काठमाडौं, २८ फागुन । नेपाल सरकारको तलबमान अनुसार (राजपत्र अंकित पाँचौं) नायव सुब्बा सरहको कर्मचारीको अहिलेको तलव २८ हजार पाँच सय रुपैयाँ छ । त्यसबाहेक ग्रेड संख्याको आधारमा पाउने ग्रेडदर पनि थपथाप हुँदा केही हजार रुपैयाँ बढ्न सक्छ ।
तलबमान निकै कम भएको र परिवार समेत पाल्न धौ–धौ हुने गरेको भन्दै कर्मचारीहरुले बेला बेला तलबबृद्धिको माग गर्दै आएका छन् । तर त्यही तलब खाने एकजना नायव सुब्बा सरहका सरकारी कर्मचारीले भने करोडौं रुपैयाँको शंकाष्पद लगानीमा ल्याब सञ्चालन गरेको खुलेको छ । ती पात्र हुन् हुन्– भिमकान्त भण्डारी उर्फ बिके । नेपालका सबैजसो नाम चलेका र पहुँचवाला मिडियामा पैसा तिरेर चर्को विज्ञापन गरेर प्रचार गरिरहेको बिध ल्याबका सञ्चालक र अध्यक्ष उनै भण्डारी हुन् ।
भण्डारी विकास समिति ऐन अन्तर्गत सञ्चालन भएको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको शाखा ग्रामीण विकास प्रशिक्षण केन्द्र, झापामा पहुँचका भरमा २०७३ साल असोज १९ गते नियुक्त भएका थिए । त्यसयता गएको वैशाखसम्म ३ वर्ष ७ महिनाक जागिर खाएका उनले गत साउन १ गते राजिनामा दिएका थिए ।
भण्डारीको स्वामित्व रहेको विध ल्याबले चीनबाट रु. २२ करोड ८५ लाख ६१ हजार ५६० को आरडीटी किट मात्रै खरिद गरेर सरकारलाई बिक्री गरेको देखिन्छ । कुपण्डोलमा रहेको भव्य भवनमा बिध ल्याब सञ्चालनमा छ । यहाँ अहिले सुगरदेखि थाइराइडसम्म परिक्षण गर्न थालिएको छ । उक्त ल्याबमा निर्माणमा भण्डारीले १५ करोड रुपैयाँ भन्दा बढी खर्च गरेको उनी निकट स्रोत बताउँछ । हालै उनले पोखराको पृथ्वीचोकमा समेत शाखा सञ्चालन गरेका छन् ।
‘यसरी सामान्य रुपमा पनि उनले देखाएको लगानी ४० करोड भन्दा धेरै छ,’ उनीसँग निकट रहेका एक नेकपा नेता भन्छन्, ‘यसबाहेक उनले काठमाडौंमै ३ करोड भन्दा धेरै मूल्य पर्ने घर समेत खरिद गरेको हामीसँग बताएका छन् ।’
ठूला नेतासँग रहस्यमयी साँठगाँठ !
तत्कालिन उर्जामन्त्री वर्षमान पुनको सचिवालयमा रहेकै बखत उनले कोरोना भाइरस रोकथाम र नियन्त्रणका सामग्री खरिद प्रकृयामा संलग्न भएको ओम्नी ग्रुप बाहिरिएलगत्तै अप्रत्यासित रुपमा सोही ब्यापार सम्हालेको देखिन्छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाले १९ वैशाख २०७७ मा बिध सँग शुरुमै रु ५ करोड ६५ लाख २५ हजार मूल्य बराबरको आरडीटी किट खरिदका लागि जिम्मा दिएको थियो ।
अनौठो त के छ भने स्वास्थ्य सामग्री आपूर्तिमा कुनै अनुभव नभएको र दर्ता भएको एक वर्ष पनि नपुगेको यो कम्पनीलाई लगत्तै थप सामग्री खरीद गर्ने ठेक्का दिइयो । जस्तो कि, बिध म्यानेजमेन्ट प्रालिले ३० जेठ २०७७ मा विभागको आपूर्ति व्यवस्थापन शाखाबाट थप रु.९ करोड ४५ लाख मूल्यको आरडीटी किट खरीद गर्ने ठेक्का पायो । त्यसपछि थप आरडीटी किट खरीद गर्न ३ असार २०७७ मा अर्को सम्झौता हुँदा बिधले रु.७ करोड ७५ लाख ३६ हजार ५६० को ठेक्का पायो । यसरी बिधले आरडीटी किट खरीद गर्न तीन महिनाको बीचमा स्वास्थ्य सेवा विभागबाट कुल रु.२२ करोड ८५ लाख ६१ हजार ५६० को ठेक्का पायो । भण्डारीले तत्कालिन उर्जामन्त्री वर्षमान पुनको सचिवालयबाटै यस्तो व्यापारमा हात हालेका हुन् । उनी र पुनको सम्बन्ध समेत शंकाका घेरामा रहेको उनी निकटहरु नै बताउँछन् ।
के भण्डारीले कालोधन ल्याएका हुन् ?
गुल्मीको मालिका गाउँपालिका ५ का सामान्य परिवारमा जन्मेका भण्डारीको सम्पत्ति विवरण हेर्दा यति धेरै लगानी गर्ने आर्थिक हैसियत देखिँदैन । २०७१ माघ २२ गतेसम्मको सम्पत्ति विवरण अनुसार उनको परिवारसँग २० रोपनी १२ आना जग्गा तथा नगद र गरगहना समेत बढीमा ५ लाख ४० हजार बराबरको जिन्सी रहेको देखिन्छ । त्यसयता ६ वर्षको अवधिमा ब्यापारमा उनको करौडौ लगानी गर्ने हैसियत कसरी बन्यो भन्ने विषय भने अज्ञात नै छ ।
निजामति सेवामा खरिदार तहको कर्मचारी उनकी श्रीमती विमला भण्डारी पन्थी २०७१ माघ २२ गते बुझाएको सम्पत्ति विवरण अनुसार भिमकान्तका बुबाको नाममा १ रोपनी बारी, २ रोपनी खरबारी र ३ रोपनी खेत थियो । हजुरबुबा बालु भण्डारीको नाममा १४ रोपनी पुख्र्यौली बारी थियो । सबै परिवारको जम्मा गर्दा उनको परिवारसँग २० रोपनी १२ आना जग्गा रहेको देखिन्छ ।
त्यस्तै पुख्र्यौली सम्पत्तीकै रुपमा ३ तोला सुन, ५ तोला चाँदी र ३ लाख नगद रहेको विवरणमा उल्लेख छ । त्यो बेलासम्म भिमकान्तको नाममा विभिन्न बैंक खातामा २ लाख ४५ हजार र बिमलाको नाममा १७ हजार थप नगद भएको समेत देखिन्छ । त्यससका साथै ३६ हजारको डेस्कटप, ५६ हजारको ल्यापटप र ३ थान मोवाइलसेट समेत रहेको विवरण उनले बुझाएकी छन् ।
नगद र जिन्सी हिसाव गर्दा २०७१ को माघ २२ गतेको मूल्य अनुसार बढीमा ५ लाख ४० हजार बराबर रहेको उनीहरुको आर्थिक हैसियत त्यस यताको ५ वर्षमा भने एकाएक करोडौंमा पुगेको छ ।
प्राप्त जानकारी अनुसार भण्डारी त्यस्ता सरकारी कर्मचारी हुन जो नियुक्ति भएपछि साढे ३ वर्षमा जम्मा १० दिनमात्र आफ्नो कार्यालयमा हाजिर भए र बाँकी समय सिँहदरबारभित्रै बिताए ।
सिँहदरबारभित्र विभिन्न मन्त्रीको सचिवालयमा रहेका बखत उनको त्यो सम्पत्ति सिँहदरबारबाटै भित्र्याएको देखिन्छ । सरकारी जागिरमा नाम निकालेपछि २०७३ असोज २० गते देखि १० दिनमात्र कार्यालयमा हाजिर भएर दँशैविदामा घर फर्केका थिए ।
दँशैपछि कार्यालयमा पुगेर स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका लागि काज मिलाएर आएका उनी त्यसपछि ४ वर्ष आफ्नो कार्यालय फर्केनन् ।
स्थानीय विकास मन्त्रालय, अर्थमन्त्रालय, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा मन्त्रीको सचिवालयमा काजमा बसेका उनी २०७४ चैतदेखि उर्जामन्त्री वर्षमान पुनको सचिवालयमा थिए । कम्पनी दर्तादेखि आरडीटी किटको ब्यापार गर्दासम्म उर्जामन्त्रीको सचिवलायमा रहेका उनी गत असार १५ मा मात्रै स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा फिर्ता भएका थिए । तर उनी आफ्नो दरबन्दी भएको कार्यालयमा नगइ तालुक अड्डामा नै बसेका छन् ।
भण्डारीले २०७७ असार मसान्तसम्म ग्रामीण विकास प्रशिक्षण केन्द्र, झापाबाट तलब बुझेको ग्रामिण विकास प्रशिक्षण प्रतिष्ठान झापाका सूचना अधिकारी सुरेश भट्टराइले बताए । अहिले उनले जागिरबाट राजीनामा दिएको बताउँदै हिँडेका छन् । स्रोतका अनुसार भण्डारीले गत साउन १ गतेदेखि लागुहुने गरि राजिनामा दिएका छन् । यद्धपी विध ल्याब खोल्नका लागि कम्पनि रजिष्टार कार्यालयमा भने राजिनामा दिनु अघि नै अर्थात जेठमै निवेदन दिइसकेका थिए ।
‘हामीसँगै झापा आएका थिए । तर, दुई चारदिन पनि हाजिर नगरी काठमाडौँ फर्किए । अहिले त काठमाडौंमा घर घडेरीदेखि ४० करोड भन्दा बढी लगानीमा ल्याब देखि ठेक्का पट्टासमेत छ भन्ने सुन्छु,’ उनी सरहकै एक कर्मचारी भन्छन्,‘दुई तिन वर्षअघि सम्म केही पनि थिएन । अहिले एकाएक कसरी यस्तो भयो हामी अचम्ममा परेका छौँ । कतै उनले कालोधन पो ल्याएकी भन्ने आशंका बढ्दै गएको छ ।’
विध ल्याबमा भएको शंकाष्पद लगानीका विषयमा ल्याबका अध्यक्ष भण्डारीलाई सम्पर्क गर्दा उनले फोन उठाएनन् । बिध ल्याबको टेलिफोनमा सम्पर्क गर्दा फोन उठाउने महिलाले भण्डारीको नम्बर दिन नमिल्ने बताए ।