
काठमाडौं, ५ चैत्र । राजधानीको पानीपोखरीमा सञ्चालित एम्बेसी रेष्टुरेन्टले लामो समयदेखि सरकारलाई कर नतिरेको खुलाशा भएको छ ।
आन्तरिक राजश्व कार्यालय महाराजगञ्जका अनुसार उक्त रेष्टुरेन्टले कर कार्यालयलाई ७ लाख ५४ हजार रुपैयाँ कर नतिरेको पाइएको हो ।
कर कार्यालयका अनुसार उक्त रेष्टुरेन्टका सञ्चालकलाई पटक पटक कर तिर्नकालागि कारोबार स्थल, मोबाइल नम्बरमा खबर गर्दा पनि कर तिर्न अस्विकार गरेको छ । कारोबारस्थलमा कर कार्यालयले हुलाक मार्फत सुचना पठाउँदा समेत कर तिर्न अस्विकार गरेपछि कर कार्यालयले सार्वजनिक सुचना नै जारि गरेको हो । कर कार्यालयले १५ दिन भित्र कर तिर्न अल्टिमेटम नै दिएको छ ।
रेष्टुरेन्टका सञ्चालक करिस प्रधानले कोरोना महामारीका कारण कर तिर्न नसकिएको बताए । यद्धपी आफूहरुले तिर्ने प्रक्रियामै रहेको बताए । ‘हामीले पछिल्लो ३ महिनाको कर बुझाएका छौँ । कोरोना महामारीका कारण व्यापार पहिलेको जस्तो छैन । कर तिर्न फोन आईरहेको थियो । तिर्ने तयारीमै छौँ,’ उनले भने,‘सार्वजनिक सुचना नै छापिएको विषयमा त्यति थाहा भएन । तपाईंले कसरी सुचना पाउनु भयो ।’
एम्बेसी रेष्टुरेन्ट सञ्चालकहरुले लाजिम्पाट क्षेत्रमा ओष्कार लगायत विभिन्न रेष्टुरेन्ट सञ्चालन गरेका छन् ।