काठमाडौं, १२ चैत्र।कोभिड संक्रमण रोकथामका लागि लकडाउन नहुने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्पष्ट पारेका छन्।
कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने तर लकडाउन र सीमानाका बन्द नगरिने बताएका हुन्।
कोभिड रोकथामका लागि सीमानाका बन्द गर्ने अथवा लकडाउन गर्ने सरकारको सोच नभएको बताएका हुन्।
उनले भने, ‘हामी आशंकाबाट होइन यथार्थबाट निर्देशित भएर अगाडि बढ्नुपर्छ। सरकारको सोच के हो भने कोभिडको दोस्रो लहरको चर्चा चलिरहेको छ त्यसबाट हामी जोगिनु पर्ने छ।अर्कोतर्फ आर्थिक सामाजिक क्रियाकलापलाई नियमित र सुचारू पनि गर्नुपर्ने आवश्यकता छ।त्यसकारणले हामी आर्थिक, सामाजिक क्रियाकलापलाई सुचारु पनि गर्छौं, नियमित पनि गर्छौं र स्वास्थ्य मापदण्डलाई ख्याल गरेर अगाडि बढ्छौं। अहिले सरकारले सीमानाका बन्द गर्ने, लकडाउन गर्नेतर्फ सोचेको छैन।’