
काठमाडौं ,१७ चैत्र । आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार नहुने जल तथा मौसम विभागले जनाएको छ ।
हाल मुलुकका धेरै जसो स्थानमा वायुमण्डल स्थिर अवस्थामा नै रहिरहेकाले प्रदूषणका कणहरु छरिन नपाई वायुमण्डलको तल्लो तहमै तैरिएका कारण असामान्य प्रकारको तुवाँलो लागेको हो ।
देशका अधिकांश जिल्लाका धेरै स्थानमा लागिरहेको डढेलोबाट सिर्जित धुवाँका कणहरु वायुमण्डलमा सञ्चित हुन गई असामान्य प्रकारको तुवाँलोको अवस्था आएको विभागद्धारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।
तुवाँलोका कारण आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या जस्ता स्वास्थ्यमा पर्ने नकारात्मक असर पर्ने भएकोले आवश्यक कार्यबाहेक घरबाहिर ननिस्कन र निस्कनु परेमा मास्क लगाउन तथा आवश्यक सतर्कता अपनाउन विभागले जानकारी गराएको छ ।
आगामी दिनमा मौसम थोरै चलायमान हुने देखिए पनि तुवाँलो अवस्था के कस्तो हुने हो भन्नेबारे डढेलोको अवस्थामा निर्भर रहने विभागको भनाइ छ ।