महोत्तरीबाट बेपत्ता पाँच बालिका र दुई किशोरी बिहारको सीतामढीमा भेटिए

दियोपोस्ट संवाददाता

काठमाडौं , १८ चैत्र महोत्तरी भंगाहाबाट हराएका ५ बालिका र २ किशोरी भारतको बिहारस्थित सीतामढी पुगेको पाइएको छ । सशस्त्र प्रहरीको समन्वयमा भारतीय प्रहरीले ती बालिका तथा किशोरीहरुलाई फेला पारेको बताइएको छ ।

भारतीय प्रहरीले सोबारेमा नेपाल प्रहरीलाई जानकारी गराएको महोत्तरी भंगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले जानकारी दिएका छन् । प्रहरीलाई उद्धृत गर्दै मेयर साहले सबै किशोरीहरुको सकुशल रहेको बताएका छन् ।

बालिकाहरु भेटिएको अपुष्ट जानकारी पश्चात जिल्ला प्रहरी कार्यालयको टोली सीतामढीतर्फ बालिकाहरुको फोटोसहित प्रस्थान गरिसकेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिएका छन् । त्यहाँ भेटिएका बालिकाहरु भंगाहाबाट हराइरहेका बालिकाहरु हो वा होइन भन्नेबारे प्रहरीको टोली पुगेपछि पुष्टि हुने उनले बताएका छन् ।

मंगलबार बिहान घाँस काट्न एकसाथ खेततिर गएका ५ बालिका र २ किशोरी बेपत्ता भएका हुन् । वेपत्ता हुनेहरुमा ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान रहेका छन् । घाँस काट्न गएका छोरीहरु घर नफर्किएपछि परिवारले प्रहरीमा खबर गरेका थिए ।

सम्बन्धित खबर

सिफारिस