कञ्चनपुर, २४ चैत । मुक्त हलियाको वास्तविक अवस्था बुझ्नका लागि विदेशी विज्ञको टोली कञ्चनपुर पुगेको छ ।
बङ्गलादेश र कम्बोडियाका गरी दुईजनाको विज्ञ टोलीले कञ्चनपुरको ब्रह्मदेवका मुक्त हलियाको बस्तीमा पुगेर अवस्थाबारे मंगलबार जानकारी लिएको छ । लुथरन विश्व फेडरेसनको सहयोगमा आएको टोलीले मुक्त हलिया परिवारसँग अन्तरक्रिया गरी अवस्थाबारे जानकारी लिएको छ ।
मुक्त हलियाका लागि सरकारी र गैरसरकारीतर्फ भइरहेका प्रयासबारे टोलीका विज्ञले जानकारी लिएको लुथरन केन्द्रीय कार्यालयका अधिकृत हरि अवस्थीले बताए । मुक्त हलियाको विगत, वर्तमान अवस्था, कार्यक्रमको प्रभावकारिता र आर्थिक अवस्थामा आएको परिवर्तनबारे विज्ञले चासो राखेको उनले बताए ।
मुक्त हलियाले वर्गीकरणमा भएको त्रुटि, प्रभावकारी रुपमा पुनःस्थापना कार्यक्रम अगाडि बढ्न नसकेको, छुवाछूतका घटनामा आएको कमी र रोजगारीका अवसर सृजना गर्नका लागि कार्यक्रम अगाडि बढाइनुपर्ने लगायतका कुरा विज्ञ टोलीका सहभागीसमक्ष राखेका छन् । मुक्तहलिया पुनःस्थापनामा चुनौती रहेको कुरा औँल्याउँदै विज्ञ टोलीका सहभागी कम्बोडियाका विपुल चेनले शिक्षाको कमी, परिचयपत्र छुटेको र अधिकार पाउनबाट वञ्चित रहेको कुरा दुःखद भएको बताए ।
टोलीमा बङ्गलादेशका मेमोन रसिदको समेत सहभागिता रहेको छ । टोलीले भूमिसुधार कार्यालय कञ्चनपुरका भूमिसुधार अधिकृत जानकी कार्कीलाई भेटेर सरकारी तवरबाट मुक्तहलिया पुनःस्थापनाका लागि भइरहेका प्रयास र चुनौतीबारे समेत जानकारी लिएको छ ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki