रेशम चौधरीले भौतीक आक्रमण गरेको नाउपाका नेताको आरोप, बालुवाटार गए पिट्ने चेतावनी

संस्थापक केन्द्रीय समितिको बैठक

दियो पोस्ट डेस्क  

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य रमेश विश्वकर्माले आफूमाथि पार्टीका संस्थापक रेशमलाल चौधरीले आक्रमण गरेको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा आफूमाथि भौतिक आक्रमण गरिएको बताए ।

“अनौपचारिक कुरा हुने क्रममा एउटा ढोकामा मात्रै चुकुल लगाइएको थिएन । त्यो घरबाट बाहिर निस्कने मेन ढोका बाहिरबाट बन्द गरेर ममाथि भौतिक आक्रमण भयो,” उनले भने ।

सोमबार बिहान ८ बजे अध्यक्ष रन्जीता श्रेष्ठ चौधरीले संस्थापक केन्द्रीय समितिको बैठक बोलाएकी थिइन् । बैठकअघि अनौपचारिक कुराकानीका क्रममा विवाद हुँदा आक्रमण गरिएको विश्वकर्माले बताए ।

सरकारका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्न आफूहरू बालुवाटार जाने भनेपछि रेशमलालले पिट्ने चेतावनी दिएको उनले सुनाए । “आज प्रधानमन्त्रीलाई भेट्न जाने हो भन्दा यदि तिमीहरु बालुवाटार गयौ भने बालुवाटारबाहिरै पिट्छौँ भन्नुभयो । त्यसो भन्दा हामीले विरोध गर्‍यौँ,” उनले भने ।

पत्रकार सम्मेलनमा टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारु, टीकापुर–४ का वडाध्यक्ष लालवीर चौधरी र टीकापुर–५ का वडाध्यक्ष बलवीर चौधरी समेत सहभागी थिए ।