काठमाडौं । कैलालीबाट उदाएको नागरिक उन्मुक्ति पार्टी भित्र पछिल्लो समय चरम विवाद छ । पार्टी अध्यक्ष समेत रहेका रेशमलाल चौधरी र उनकी श्रीमती तथा पूर्वमन्त्री रञ्जिता चौधरी श्रेष्ठबीचको विवाद अहिले एकअर्काबीच भौतिक कारबाहीमा उत्रनेसम्म पुगेको छ ।
सोमबार पार्टी कार्यालयमा भएको विवाद भौतिक कारबाहीसम्म पुगेको हो । श्रेष्ठ पक्षिय नेताहरुले आफूमाथि चौधरी समुहले भौतिक आक्रमण गराएको बताएका छन् । अनामनगरस्थित पार्टी कार्यालयमै भएको बैठकमा केन्द्रीय सदस्य रमेश विश्वकर्मासहितका नेताहरुमाथि भौतिक आक्रमण भएको बताइएको छ । पत्रकार सम्मेलनै गरेर विश्वकर्माले आफूहरुमाथि चौधरीको समुहले आक्रमण गराएको बताएका हुन् ।
स्रोतका अनुसार चौधरीले जेल भित्र रहँदा सम्बन्ध बनाएका केही आपराधिक पृष्ठभूमिका व्यक्तिहरुले पार्टी कार्यालयमा आएर आक्रमण गराएका हुन् । बौद्ध क्षेत्रमा गुण्डागर्दी गर्ने लामा थरका गुण्डाहरु परिचालन गरेर चौधरीले पार्टी कार्यालयमा आक्रमण गराएको आरोप छ ।