काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल (डिपी) र सहमहामन्त्री कविन्द्र बुर्लाकोटी ‘सहकारी ठगी’ मा मुछिएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रहेका अर्याल इजिलिंक मनि ट्रान्सफर नामक रेमिट्यान्सका मालिक समेत हुन् ।
अर्याल र बुर्लाकोटीको मिलेमतोमा खोलिएको ‘हाम्रो नयाँ कृषि सहकारी संस्था’ले बचतकर्ताको ४ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ । निक्षेपकर्ताहरुले रकम फिर्ता नपाएपछि सहकारी विभागमा उजुरी परेको छ । विभागकै सिफारिसमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ ।
अर्याल उपाध्यक्ष हुँदा सहकारीको अध्यक्ष सूर्य गुरुङ थिए । धादिङ्गको ज्वालामुखि २ मैदी घर भएका अर्यालले यसअघि पनि विवादमा आएका थिए । रास्वपाका पूर्व सांसद ढाका कुमार श्रेष्ठले अर्यालसहितको कोर टिमलाई २ करोड रुपैयाँ घुस दिएर सांसद भएको आरोप लगाएका थिए । अर्याल र बुर्लाकोटी मिलेर राजधानीमा म्यानपावर व्यावसायी चलाएको विषय सार्वजनिक भएको थियो । बुर्लाकोटी गोरखाबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चुनाव लडेका व्यक्ति हुन् । अर्याल उपाध्यक्ष रहँदै गर्दा २६ जना निक्षेपकर्ताले रकम फिर्ता माग गर्दै सहकारी विभागमा उजुरी दिएको फेला परेको छ ।
धादिङ्गको ज्वालामुखिमा सामान्य परिवारमा जन्मिएका डिपीको आर्थिक प्रगति रहस्यमयी रहेको उनी निकटहरु बताउँछन् ।
सहकारी ऐन, नियम, मूल्यमान्यताविपरीत कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको सम्बन्धमा कारबाही हुँदा सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) को देहाय खण्ड (क), देखि (च) सम्मको विद्यमान रहेको देखिएकाले सहकारी विभागका रजिस्ट्रारको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम हाम्रो नयाँ कृषि सहकारीलाई समस्याग्रस्त घोषणा गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ। सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न सोही ऐनको दफा १०५ बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाएको मन्त्रालयले जनाएको छ ।
यसअघि यस्तै प्रकृतिको मुद्दामा उपराष्ट्रपति नन्द बहादुर पुनका पुत्र दिपेश पुन पक्राउ परेका थिए । कुनै समय बुटवलको सुप्रिम सहकारीको कोषाध्यक्ष रहेका पुनमाथि पनि सहकारी ठगीको आरोप छ । उनले पनि आफूले राजिनामा दिएर पद छाडेको बताउने गरेका थिए ।