काठमाडौं । काठमाडौं उपत्यका क्षेत्रमा आज सोमबार घोडे जात्रा पर्व मनाइँदैछ । घोडे जात्रापर्वमा सरकारले काठमाडौं उपत्यका भित्र एक दिन सार्वजनिक बिदा दिएको छ ।
चैत्र कृष्ण औंसीका दिन मनाइने यो जात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा विशेष समारोहको आयोजना गर्ने छ । सो जात्राको समारोहमा सेनाहरु घोडाचडी विभिन्न कला प्रदर्शन गर्नेछन् । यस समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत विशिष्ट व्यक्तित्वहरुको पनि सहभागिता हुनेछ ।
टुडिखेल पूर्व–दक्षिण दिशामा रहेको एउटा रुखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेको स्थानीयको गुनासोपछि घोडाको टापले कुल्चाउने प्रचलन शुरु भएको र त्यही प्रचलन अनुसार घोडेजात्रा मनाउन थालिएको कथन छ । यस जात्राको अवसरमा नेपाली सेनाले अश्वकला, युद्धकला, शारीरिक व्यायाम लगायतको प्रदर्शन गर्ने छन् ।
उपत्यकाकै अर्को जिल्ला ललितपुरमा भने एउटा आँखा नदेख्ने एक्लो घोडा दौडाएर घोडे जात्रा मनाउने गरिएको छ ।