ईनारमा खसेको बिरालो बचाउन खोज्दा एकै परिवारका ५ जनाको मृत्यु

दियो पोस्ट डेस्क  

काठमाडौं । ईनारमा खसेको बिरालो बचाउन खोज्दा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । मंगलबार साँझ बिरालो बचाउन एकपछि अर्को गर्दै इनारमा हाम फालेका एकै परिवारका पाँच सदस्यको मृत्यु भएको हो ।

यो घटना भने छिमेकी मुलुक भारतको हो । भारतको महाराष्ट्र राज्यको अहमेदनगर जिल्ला भकडी गाउँको हो । अहमेदनगर प्रशासन कार्यालयले बुधबार बिहान सबैको लाश बाहिर निकालेको छ । उनीहरु सबैले इनारमा खसेको बिरालो बचाउन एक पछि अर्को गर्दै हाम फालेको भारतिय सञ्चारमाध्यममा खबर छ ।

नेभासा प्रहरी चौकीका इन्स्पेक्टर धनन्जय जाधवले स्थानिय सञ्चार माध्यम इन्डियन एक्सप्रेसलाई बताएअनुसार मंगलबार बेलुका ४ बजे घरपालुवा बिरालो इनारमा खसेको थियो । उक्त बिरालोको उद्धार गर्न परिवारका एक सदस्यले सुरुमा इनारमा हाम फालेका थिए । इनारमा भरिएको लेदोमा फसेपछि उनलाई बचाउन परिवारका अर्का सदस्यले पनि सोहि इनारमा हाम फालेका थिए । यसरी एकपछि अर्कोको उद्धार गर्न जाने क्रममा एकै परिवारका पाँच सदस्यको ज्यान गएको छ भने एक जनाको भने जिवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ६५ वर्षीय मानिक काले, उनका ३६ वर्षीय छोरा सन्दिप, मानिकका भाई ५३ वर्षीय अनिल काले र अनिलका २८ वर्षीय छोरा बब्लु र सोहि परिवारका ३६ वर्षीय हाइक्वाद रहेका छन् । मानिक कालेका ३५ वर्षीय कान्छा छोरा विजयको जिवितै उद्धार गरिएको र उद्धारपछि उनलाई सरकारी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । लामो समयदेखि प्रयोग विहिन उक्त इनारभित्र जान प्रतिबन्ध लगाइएको थियो भने इनारभित्र गोरब र लेदा भरिएको जनाइएको छ ।

भारतिय सञ्चारमाध्यमबाट