काठमाडौं । हिमाल सफाई अभियानको नेतृत्व लिएको नेपाली सेनाको यस वर्षको सफा हिमाल अभियान औपचारिक रुपमा सुरु भएको छ । अभियानमा संलग्न सेनालाई बिहिबार झण्डा हस्तान्तरण गरेसँगै यो वर्षको सफा हिमाल अभियान औपचारिक रुपमा सुरु भएको हो ।
सेनाले यस वर्ष सगरमाथा, ल्होत्से र नुम्त्से हिमालबाट १० टन फोहोर संकलन गर्ने लक्ष्य राखेको छ । सफाइ अभियानका लागि सेनाले नेपाली शेर्पा आरोहि र अन्य पर्वतारोहिसँग सहकार्य गर्नेछ । उक्त अभियानको नेतृत्व नेपाली सेनाका ब्रिगेडियर जनरल सञ्जय देउजाले गरेका छन् ।
उक्त अभियानको लागि नेपाली सेनाको टोली वैशाख पहिलो शाता हिमालतर्फ प्रस्थान गर्ने नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए । ‘अभियानको लागि नेपाली सेनाको टोली आजै जाने भनिएको थियो’ उनले भने, ‘आज टोलीका सदस्यलाई झन्डा हस्तान्तरण गरेर औपचारिक रुपमा यो वर्षको अभियान सुरु गरिएको छ । सफाई अभियानको लागि टोलीले वैशाख २÷३ गतेतिर हिमालतिर प्रस्थान गर्ने कार्यक्रम छ ।’
प्रवक्ता सिलवालका अनुसार सदस्यहरुको लजिस्टिक तय भइसकेको छ भने मौसम अनुकुलन तालिम सम्पन्न भइसकेको छ । उक्त अभियानमा नेपाली सेनाको तर्फबाट १२ सदस्य सहभागी हुनेछन् भने अन्य विभिन्न पर्वतारोहि, शेर्पा आरोहिहरु सफाई अभियानमा सहभागी हुनेछन् ।
नेपाली सेनाको नेतृत्वमा हुने उक्त सफाई अभियान विश्व वातावरण दिवस २४ सम्म चल्नेछ । सेनाले गत आइतबार पत्रकार सम्मेलनमार्फत यस वर्षको सफा हिमाल अभियानबारे जानकारी दिएको थियो । हिमालमा थुप्रिएको फोहोरसँगै हिमआरोहणको क्रममा ज्यान गुमाएका पाँच जनाको शरिर फिर्ता ल्याउने योजना रहेको समेत सेनाले जनाएको छ ।
हिमालबाट संकलित फोहोर काठमाडौ ल्याइने सेनाका प्रवक्ता सिलवालले जानकारी दिए । ‘हामीले संकलन गरेको कुहिने फोहोर स्थानिय तहलाई हस्तान्तरण गरिनेछ भने नकुहिने फोहोर गाडिमार्फत काठमाडौ ल्याइने छ’ उनले भने, ‘काठमाडौ ल्याइएको फोहोर रिसाइकल कम्पनीहरुलाई हस्तान्तरण गरिनेछ ।’
हिमाल आरोहिको संख्या बढेसँगै हिमालमा अव्यवस्थित फोहोर थुप्रिरहेको छ । नेपाली सेनाले विभिन्न हिमालमा रहेको फोहोरमैला संकलन गर्ने अभियान सन् २०१९ देखि सञ्चालन गरेको थियो । सन् २०२० मा भने कोभिड १९ को कारण उक्त अभियान सञ्चालन हुन सकेको थिएन । सन् २०१९, २०२१, २०२२ र २०२३ मा सञ्चालन भएको सफा हिमाल अभियानबाट करिब ११० टन फोहोर संकलन गरिएको थियो ।