चीनलाई गोप्य सूचना बेचेको आरोपमा भारतबाट नेपाली सहित २ जना पक्राउ

दियो पोस्ट डेस्क  

चीनलाई गोप्य सूचना बेचेको आरोपमा भारतीय प्रहरीले नेपाली नागरिकसहित २ जनालाई पक्राउ गरेको छ । भारतको मुम्बई साइबर प्रहरीले व्यक्तिगत विवरण विक्रीगरेको आरोपमा एक नेपाली सहित दुई जनालाई नेपाल भारत सिमा क्षेत्रबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उत्तर प्रदेशका नागरिक चन्द्र शेखर र उनका नेपाली सहकर्मी दिलिपकुमार चाईलाई शनिबार पक्राउ गरेको भारतिय मिडियामा खबर छ । प्रहरीले चन्द्र शेखरको बैंक खाताबाट ४.५ करोड भारु बरामद गरेको छ । उक्त रकम चन्द्र शेखर र दिलिप कुमारले भारतियहरुबाट ठगेर जम्मा गरेको खुलेको छ ।

भारतको राष्ट्रिय अपराध शाखाका अनुसार सो विषयसँग सम्बन्धित हालसम्म कम्तीमा ७२ वटा उजुरी दर्ता भएका छन् । आरोपित व्यक्तिहरु स्टक मार्केटमा लगानी गरेमा ठुलो रकम हात पर्ने आश्वासन दिदै सर्बसाधारणलाई लोभ्याउने गर्थे । आफु अनलाइनमार्फत ठगिएको थाहा पाएपछि कैयौ व्यक्तिले हालेको उजुरीको आधारमा प्रहरीले उनीहरुलाइ पक्राउ गरेको हो ।

नेपाली नागरिक भनिएका दिलिपकुमार भने ठगिमा मात्र नभई व्यक्तिको गोप्य सुचना चिनिया नागरिकसँग बिक्रि गर्ने गरेको समेत भारतिय प्रहरीले जनाएको छ । ‘दिलिपकुमार चिनियाँ नागरिकसँग नियमित सम्पर्क हुने गरेको खुलेको छ’ साइबर अधिकृत अमोल वाघमारेले भनेका छन्, ‘यति मात्र नभई उनले व्यक्तिगत विवरणहरु चिनिया नागरिकलाई बेच्ने गरेकोसमेत खुलेको छ । व्यक्तिगत विवरण बेच्दा क्रममा उनले हरेक व्यक्तिबाट १ देखि ३ लाख भारु असुल्ने र उक्त रकम आफ्ना सहकर्मी शेखरसँग बाड्ने गरेको पाइएको छ ।’

पक्राउ परेका दुवै जनालाई प्रहरीले अप्रिल १६ सम्म हिरासतमा राखेर अनुसन्धान अघि बढाउने जनाएको छ ।

इन्डिया टुडेबाट