सुदूरपश्चिमको ‘झड्का’ले केन्द्र सरकारसम्म परकम्प : बागमती सरकार ‘अल्पमत’मा पर्ने निश्चित !

दियो पोस्ट  

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका कारण सत्तारुढ गठबन्धन भत्कने खतरा बढेको छ । पूर्वसहमति अनुसार नेपाल नेतृत्वको समाजवादी पार्टीलाई सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नदिएको भन्दै माधव नेपाल विच्किएपछि प्रचण्ड नेतृत्वको सरकार नै संकट तर्फ उन्मुख बनेको छ ।

सुदुर पश्चिममा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको गठबन्धन बनेको छ । प्रदेशमा त्यस्तो हुँदा यता केन्द्रमा भने नेकपा एमाले, एकीकृत नेकपा माओवादी, समाजवादीसहितको गठबन्धनमा सरकार छ । प्रदेशमा भने एमाले र माओवादीसहितका अन्य दल प्रतिपक्षी बनेका छन् । सुदूरपश्चिमका झिल्को यतिबेला केन्द्रसम्म पुगेको एक उच्च तहका नेताले बताए ।

एकीकृत समाजवादीले सहमति पालना नगरे पहिलो पटक बागमति प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । त्यसका लागि सबै तयारी भएपछि अध्यक्ष माधव नेपालको अन्तिम निर्देशन कुरेर निर्णयमा पुग्ने नेताहरुको तयारी छ । बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीको ७ जना सांसद छन् । प्रदेश सभामा कांग्रेसको ३७, एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ मत रहेको छ ।

अहिले जमकट्टेललाई एमालेका २७, माओवादी केन्द्रका २१, नेकपा एसको ७ र हाम्रो नेपाली पार्टीको २ गरि जम्मा ५७ जना सांसदको समर्थन रहेको छ । प्रदेश सभामा नेकपा एसले समर्थन फिर्ता लिने वित्तिकै उनी अल्पमतमा पर्छन् । नेकपा एसले सदुरपश्चिम सरकार आफ्नो भागमा मागेको थियो । तर, नेकपा एमालेका अध्यक्ष ओलीको दबावमा नागरिक उन्मुक्ति पार्टीलाई दिएको भन्दै नेपाल रुष्ट छन् । सुदूरपश्चिम सरकारलाई लिएर ओली र नेपाल आमने सामने भइसकेका छन् । ओलीले आज पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले एकीकृत समाजवादीले अवसरवादी चरित्र देखाएको आरोप लगाइसकेका छन् । सुदूरपश्चिम सरकारको गठनमा कांग्रेस नेतृत्वको गठबन्धनलाई सहयोग गरेर नेपाल नेतृत्वको समाजवादीले अवसरवादी चरित्र देखाएको आरोप लगाएका हुन् ।

’एस भन्ने पार्टी छ एउटा । त्यस पार्टीले हामीसँग हुँदा पहिलो कार्यकाल नागरिक उन्मुक्तिलाई दिन नसक्ने, हामी भन्दा पृथक हुने हो भने, अर्को गुटबाट जाने र कांग्रेससँग नजिक भएर कांग्रेसलाई जिताउने हिसाबले जाने हो भने यो समीकरणलाई कमजोर बनाउने, यसलाई असफल बनाउने हो भने नागरिक उन्मुक्तिलाई पहिलो कार्यकाल दिन पनि सहमत हुने । अथवा निःशुल्क सेवा पनि नागरिक उन्मुक्तिको गर्नसक्ने भनेर हिजो मात्रै मुख्यमन्त्रीको दाबी गर्नेकुरा थियो, सुदूरपश्चिममा । एकीकृत समाजवादी के नामको पार्टी, त्यसले अराजनीतिक निर्णय लियो,’ ओलीले भने, ’कांग्रेस केन्द्रित समीकरणबाट नागरिक उन्मुक्तिलाई समर्थन गर्ने, एस पार्टीको दक्षिणपन्थी अवसरवादी चरित्र धेरै नांगो ढंगले प्रकट भयो । यस्तो नहुनुपर्ने थियो । कम्युनिस्ट साईनबोर्ड राख्ने, नेकपा राख्ने अगाडि र काम चाँहि अरुको हितमा गर्ने र समाजवादको पक्षधरहरूलाई कमजोर पार्ने खालको भूमिका बाहिर देखियो, सडकमा देखियो । यसैले कुनै फरक पार्नेवाला छैन ।’

यता ओलीप्रति माधव नेपाल थप आक्रोशित बनेका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सचिवालय सदस्यहरुसँग छलफलका क्रममा नेपालले सुदूरपश्चिम सरकारको समितकरमा ओली र प्रचण्डले सहमतिको पालना नगर्दा परिणाम बिग्रिएको ब्रिफिङ्ग गरे ।

‘प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीले हामीसँग गरेको सम्झौता पालना भएन । केन्द्र र प्रदेश सरकार सञ्चालनमा उहाँहरू एकलौटी ढंगले अघि बढ्न खोजेको देखियो’, उनले भने ‘यो सरकार ढाल्न इशारा नै काफी छ । तर अहिले नै हामी त्यसतर्फ लाग्दैनौ ।’

नेपालको यो भनाईले केन्द्र सरकारसम्म परकम्प गएको छ । लुम्बिनी बाहेकका सातै प्रदेशको सरकार एमाले र माओवादी गठबन्धनको हातबाट फुत्कने खतरा बढेको भन्दै यतिबेला बालुवाटारमा चिन्ता बढेको छ । माओवादी केन्द्रका कतिपय नेताहरुले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई राजिनामा गराएर उक्त स्थानमा समाजवादी पार्टीका तर्फबाट मुख्यमन्त्री नियुक्त गरे गठबन्धन जोगिने सुझाव दिएका छन् । ती नेताका अनुसार जमकट्टेल यसअघि समेत पटक पटक मुख्यमन्त्री भएकाले उनलाई फिर्ता बोलाउँदा माओवादीको हुनसक्ने क्षति रोकिने र गठबन्धन पनि जोगिने नेताहरु बताउँछन् । तर, माओवादी केन्द्रका अध्यक्ष जमकट्टेललाई हटाउने पक्षमा छैनन् । ‘उहाँले बागमतीमा शालिकराम र सुदूरपश्चिममा रंजितालाई काखी च्याप्दा केन्द्र प्रधानमन्त्रीबाटै बाहिरिनुपर्ने अवस्था आउने भयो,’ ती नेताले भने,‘अहिले त्यति ठूलो क्षति हुनुभन्दा बागमतीमा शालिकरामजीलाई ब्याक हटाउँदा सबै समस्या समाधान हुने देखियो ।’

जेठमा निति कार्यक्रम फेल गराएर प्रधानमन्त्री बन्ने दाउमा माधव नेपाल

 

सुदूरपश्चिम सरकारमा गठबन्धन भित्र सल्किएको झिल्को देखिने आगोले केन्द्र सरकारको गठबन्धन सरकार नै संकटमा फसेको छ । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल जसरी पनि प्रधानमन्त्री हुने दाउमा छन् । उनले त्यसकालागि छिमेकी मुलुकहरु विशेषगरी भारतीय पक्षसँग सहयोग पाएका छन् । भारतीय पक्षले नेपालका लागि प्रधानमन्त्री पदसहित आगामी ८४ सालको चुनावमा २५ सिट जिताइदिने आश्वासन दिएका छन् । चुनाव खर्चको समेत जिम्मा लिएको एमालेकै एक अनलाइनले सार्वजनिक गरेको छ । यस्तोमा नेपाल जसरी भएपछि प्रचण्ड सरकारले ल्याउने नीति कार्यक्रम फेल गराउने र आफै प्रधानमन्त्री हुने जोडमा छन् । तर, उनको महत्वकांक्षा पुरा हुने संभावना निकै कम छ किनकी उनको पार्टीलाई मुख्यमन्त्री समेत नदिएर पन्छाउन क्रियाशिल सत्ताका खेलाडी एमाले अध्यक्ष ओलीले कांग्रेस नेतृत्वमा सरकार बनाएर भएपनि नेपालको प्रधानमन्त्री बन्ने सपना अवरोध गर्ने छाँटकाँट देखिएको छ ।

बागमती सरकार ढाल्ने निर्देशन आएको छैन : खनाल

यता नेकपा एकीकृत समाजवादीका बागमती प्रदेश संसदीय दलका नेता कृष्ण शर्मा खनालले भने सरकारबारे अहिले नै कुनै निर्णय नभएको बताए ।