काठमाडौं । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले समर्थन फिर्ता लिने तयारी गरेपछि बागमती प्रदेश सरकार धरापमा परेको छ । मुख्यमन्त्री शालिकराम जमकट्टेलको पद जोगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल नै क्रियाशिल हुँदा समेत अहिलेसम्म माधव नेपाल टसका मस भएका छैनन् । यसअघि हाम्रो नेपाली पार्टीका २ सांसद मध्ये एकलाई पर्यटन मन्त्रालय दिएर सरकार जोगाएका जमकट्टेल यतिबेला धने सरकारै जोगाउन नसक्ने अवस्थामा पुगेका छन् ।
सुदूरपश्चिम सरकार निर्माणमा एकीकृत समाजवादी पार्टी कांग्रेसहितको समिकरणमा लागेपछि केन्द्र सरकारकै भविष्य संकटमा परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाललाई पटक पटक फकाउने कोशिस गरेका छन् । तर, केही पार लागेको छैन । नेपालले बागमती सरकार ढालेर थप समस्यामा पार्ने संकेत गरिसकेका छन् । यता सरकार ढल्ने त्रासमा रहेका मुख्यमन्त्री जमकट्टेल भने पाठी बलि दिएर सरकार जोगाउन लागि परेका छन् ।
उनले आज मंगलबार धादिङ्गको ज्वालामुखि ४ ढोलास्थित ढोलामण्डली माई नामक मन्दिरमा पाठी बलि दिएर पुजाआजा गरेका हुन् । दलबलसहित एक्कासी मन्दिर पुगेका उनले आफै पुजा आजा गरेको भिडियो र फोटो उनका प्रेस सहयोगी राजन अधिकारीले सार्वजनिक गरेका छन् । नेकपा माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री निर्वाचित उनी पहिलो पटक ढोलामण्डली पुगेको बताइन्छ । अचम्म त के भने कुनै समय सर्वहारावादी संस्कृतिको कुरा गर्ने उनै जमकट्टेल आफ्नो पद जोगाउन भने मण्डली माईको शरणमा पुगेका छन् । उनी ढोला मण्डली माई पुगेको र पुजा आजा गरेको खबरले धादिङ्गस्थित कार्यकर्ता नै अचम्मित बनेका छन् । यसअघि माओवादी उपाध्यक्ष कृष्ण बहादुर महराले पनि ढोला मण्डलीमा पुगेर पुजाआजा गरेका थिए ।
के छ समिकरण ?
एकीकृत समाजवादीले सहमति पालना नगरे पहिलो पटक बागमति प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । त्यसका लागि सबै तयारी भएपछि अध्यक्ष माधव नेपालको अन्तिम निर्देशन कुरेर निर्णयमा पुग्ने नेताहरुको तयारी छ । बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीको ७ जना सांसद छन् । प्रदेश सभामा कांग्रेसको ३७, एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ मत रहेको छ ।
अहिले जमकट्टेललाई एमालेका २७, माओवादी केन्द्रका २१, नेकपा एसको ७ र हाम्रो नेपाली पार्टीको २ गरि जम्मा ५७ जना सांसदको समर्थन रहेको छ । प्रदेश सभामा नेकपा एसले समर्थन फिर्ता लिने वित्तिकै उनी अल्पमतमा पर्छन् । नेकपा एसले सदुरपश्चिम सरकार आफ्नो भागमा मागेको थियो । तर, नेकपा एमालेका अध्यक्ष ओलीको दबावमा नागरिक उन्मुक्ति पार्टीलाई दिएको भन्दै नेपाल रुष्ट छन् ।