‘रवि दाई, …आखिर त्यो दुई करोड रुपैयाँ कहाँ छ ?’

दियो पोस्ट  

 

काठमाडौं । हाल गृहमन्त्रीमा पदासिन रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यसअघि टेलिभिजन प्रस्तोता थिए । ‘जनतासँग सिधा कुरा’ नामक टेलिभिजन कार्यक्रम मार्फत सरकार र सत्तासिनहरुलाई प्रश्न गर्ने, टेलिभिजनबाटै नेताहरुमाथि गालीगलौच गरेर उनी एकाएक चर्चामा आए । त्यही चर्चालाई राजनीतिक स्वार्थसँग साटेपछि उनी अहिले गृहमन्त्री बनेका छन् ।

लामिछाने जब टेलिभिजनको पर्दा छोडेर सत्ताको राजनीतिमा देखिए तव उनी आफ्नै विगतका कारण प्रश्नहरुको घेराबन्दीमा परेका छन् । मुलुकभर विभिन्न सहकारीमार्फत ५० हजार भन्दा बढी सर्वसाधरणको अर्बौं रुपैयाँ ठगीकाण्डमा लामिछाने मुछिएका छन् । मूलधारका संचारमाध्यमले निरन्तर उनीमाथि प्रश्न उठाइरहेका छन् । उनीमाथि छानबीनका लागि संसदीय समिति बनाउनुपर्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर संसद अवरुद्ध गरिरहेको छ ।
पोखराको सुर्यदर्शन सहकारीसहित दर्जन भन्दा बढी सहकारीको अर्बौं रकम हिनामिना गरि फरार रहेका गितेन्द्र बाबु राई उर्फ ‘जिबि’ सँगको साझेदारीमा ग्यालेक्सी टेलिभिजन संचालनमा ल्याएका लामिछानेसहित दर्जनौँ व्यक्तिमाथि अहिले ठगीको गम्भिर आरोप लागेको छ । पोखराको सुर्य दर्शन र बुटवलको सुप्रिम बहुउद्देश्यीय सहकारी ठगीमा संलग्न विरुद्ध प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ ।सरकारी वकिल कार्यालयमा बुझाइएको प्रहरी अनुसन्धान प्रतिवेदन र अदालतमा बुझाइएको अभियोग पत्रमा रविका साझेदार जिबि राईसहित अन्यलाई प्रतिवादी बनाइएको छ । यी दुबै अभियोग पत्रमा राई फरार सुचीमा छन् । तर, गृहमन्त्री लामिछाने भने सत्ताको बलमा उन्मुक्ति पाइरहेका छन् । यद्धपी लामिछाने स्वयंले भने आफू सहकारीको बचतकर्ता, ऋणी र सदस्य समेत नरहेको दाबी ऋण नै नलिएको बताउँदै आइरहेका छन् । उनै लामिछानेको नाममा करोडौँको कारोबार हुँदा उनी कसरी बेखबर रहन सक्छन् भन्ने प्रश्न अहिले आम रुपमा उठिरहेको छ ।

बुटवलस्थित सुप्रिम बहुउद्देश्यीय सहकारी संस्था घोटालाको कुरा गरौँ । उक्त सहकारीका १ हजार ८ सय २८ जना बचतकर्ताले १ अर्ब २८ करोड बचतक रकम हिनामिना गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । जसमा जिबि राई, पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनसहित २८ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत रुपन्देहीमा अभियोगपत्र दर्ता भएको छ । तर, हिनामिनामा प्रत्यक्ष संलग्न देखिएका लामिछानेले सत्ताकै बलमा उन्मुक्ति पाएका आरोप छ ।
उक्त सहकारीमा लामिछानेको नाममा २ करोड रुपैयाँ व्यापार कर्जा स्विकृत भएको प्रहरी अनुसन्धान प्रतिवेदन र अभियोग पत्रमा उल्लेख छ । यसरी ऋण कारोबार हुँदा लामिछाने गोरखा मिडिया नेटवर्कको १५ प्रतिशत सेयरसहितको प्रबन्ध संचालक थिए । १ करोड ९६ लाख रुपैयाँ ग्लोबल आईएमईबैंकमा रहेको गोरखा मिडिया नेटवर्ककोे खाता नम्बर ०४०१०१००००५७७ मा लामिछानेको तर्फबाट जम्मा गरिएको छ । उनको खातामा उक्त रकम जम्मा गरिदिने रोशनी गुरुङ सोही आधारमा पक्राउ परि अहिले हिरासतमा छिन् । लामिछानेले पत्रकार सम्मेलन नै गरेर १ करोड ८० लाखको स्वेट सेयर लिएको स्विकार गरिसकेका छन् ।

उनले एउटा टेलिभिजन कार्यक्रममै आफूले मजाले तलब गाडी र सेयर लिएको स्विकार गरेका थिए । जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । तर, दुनियाँलाई सिधा कुरा भन्दै प्रश्न गर्ने उनले आफैसहितको संचालकले कहाँबाट कसरी लगानी भित्र्याए भन्ने प्रश्न अहिलेसम्म सोधेका छैनन् ।

खातामा पैसा आएको समय भन्दा झण्डै एक वर्षअघि नै रवि उक्त टेलिभिजनको प्रबन्ध सञ्चालक थिए । प्रबन्ध सञ्चालक भनेको प्रमुख कार्यकारी अधिकृत जस्तो तलब खाने मात्रै होइन कम्पनिकै जिम्मेवार संचालक हो । जुन समयमा ग्यालेक्सीको खातामा रविको नामबाट सहकारीको रकम जम्मा भयो त्यो समय २०७८ वैशाखमा उनी प्रबन्ध संचालक नै थिए । उनले २०७९ असारमा मात्रै टेलिभिजन छाडेका घोषणा गरेका हुन् । यो अवधिमै पैसा जम्मा पनि रविकै नामबाट भएको छ र पैसा स्विकार गर्ने कम्पनिको प्रबन्ध सञ्चालक पनि रवि लामिछाने नै छन् । तर, यस्तो समयमा भएको २ करोडको कारोबार आफूलाई थाहा नभएको रहस्यमयी जवाफ लामिछानेले २ वर्षपछि दिए । लामिछानेले यसो भनिरहँदा यसरी उनको खाताबाट गोरखा मिडिया नेटवर्क अर्थात आफै प्रबन्ध संचालक भएको कम्पनिमा गएको २ करोड रुपैयाँ आखिर कहाँ छ भन्ने प्रश्न उठ्छ ।

गोरखा मिडिया नेटवर्क नामक टेलिभिजन सामान्य कोठामा चलेको अनलाइन पनि होइन । कान्तिपुर टेलिभिजन छाडेर गएका प्रशान्त अर्याल सम्पादक थिए । विजय कुमार पाण्डेहरुले नियमित टेलिभिजन कार्यक्रम चलाउँथे । अर्बौंको लगानीमा संचालित टेलिभिजनमा पक्कै पनि लेखा शाखा त थियो नै ।

२ करोड रुपैयाँ ट्रान्सफर हुँदा बैंक रिकन्सिलेशन भयो की भएन ?

बैंक रिकन्सिलेशन भनेको तपाईंको आफ्नो कम्पनीको बैंक विवरण आफ्नै रेकर्डसँग तुलना गर्ने प्रक्रिया हो । जसले लेनदेनको हिसाब सुनिश्चित गराउँदछ । वित्तीय क्षेत्रका विज्ञहरुका अनुसार यसरी ट्रान्सफर भएको रकमको बैंक रिकन्सिलेशन हुन्छ । अर्थात कम्पनिको तत्कालिन प्रबन्ध संचालक लामिछानेलाई उक्त कारोबार तत्कालै जानकारी गराइन्छ । कुनै पनि कम्पनिको खातामा आजको दिनमा २ करोड रुपैयाँ जम्मा हुनु सामान्य विषय हुनसक्दैन । लामिछानेले त्यतिबेला नै सहमति बेगर त्यो रकम आफ्नो खाताबाट आफ्नै कम्पनिको खातामा आएकोबारे किन प्रश्न उठाएनन् ? यस्ता यावत प्रश्नहरुको घेरामा लामिछाने छन् ।

उनी संचालक रहेको टेलिभिजनमा उक्त सहकारीको १३ करोड रुपैयाँ अपचलन भएको प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । तर, लामिछानेलाई प्रतिवादी समेत नबनाई ईलाका प्रहरी कार्यालय बुटवलले अनुसन्धान प्रतिवेदन बुझाएको छ । सोही आधारमा सरकारी वकिल कार्यालयले अभियोग पत्र समेत बुझाइसकेको छ । ईलाका प्रमुख डिएसपी विजय पण्डितले लामिछानेको व्यक्तिगत विवरण पत्ता नलागेको हास्यास्पद जवाफ दिएका छन् । जबकी सहकारी ऐन २०७५ को दफा १२२ अनुसार लामिछाने समेत प्रतिवादी बन्नु पर्थ्यो । ऐनको दफा १२२ मा भनिएको छ, ‘झूटा वा गलत विवरण पेश गरी कर्जा लिएमा, राखेको धितो कच्चा भएमा वा ऋण हिनामिना भएमा कानुनी कारबाही हुनेछ ।’

लामिछानेको अर्को हास्यास्पद झूट

संचारमाध्यममा निरन्तर खबर आएपछि गृहमन्त्री लामिछानेले हिजो मंगलबार फेरी अर्को स्पष्टिकरण दिएका छन् । ‘रवि लामिछानेको नाममा ‘फेक’ धितो ऋण खाता क्रियट गरी ऋण प्रवाह भएको देखाइएको हो ऋण लिएको होइन, मेरो ब्यतिगत खातामा सहकारीको पैसा आएको लिएको गएको केही होइन,छैन,’ उनले भनेका छन्,‘अनुसन्धानले देखाए अनुसार उक्त ऋण खाता खोल्दा नागरिकता, ऋण माग गरेको फाराम, केवाइसी फर्म, तिनपुस्ते विवरण लगायतका कुनै विवरण छैन । ल्याप्चे, हस्ताक्षर समेत छैन । अर्थात मैले ऋण लिएको छैन । मेरो नाम लेखिएको मात्रै छ । रकम जम्मा गर्नेले स्पष्ट भनेकी छिन कि कसैले नाम लेखिदिनु भनेको भरमा रबि लामिछानेको नाम लेखिदिएको मात्रै हो ।’

त्यसो हो भने तत्कालिन प्रबन्ध संचालक लामिछानेले यसरी अनधिकृत रुपमा आफ्नो कम्पनिमा आफ्नै नाममा आएको रकमबारे किन त्यतिबेला सोधखोज गरेनन् भन्ने प्रश्न उठ्छ । तत्कालिन व्यवस्थापनमा यो विषयमा छलफल भयो की भएन ? वा त्यो पैसा त्यतिबेला नै फर्काइयो वा बैंकमै छ ? भन्ने प्रश्न पनि उठ्छ । अर्कोतिर रकम पठाउने व्यक्तिको नाम, पहिचान र सम्पर्क नम्बर भौचरमै स्पष्ट छ । उनलाई यो रकम किन र कसरी पठाएको भनेर आजको मितिसम्म कहिल्यै प्रश्न गरियो की गरिएन ? त्यसबारेमा बैंकसँग जानकारी लिइयो की लिइएन ? या ऋण चाहीँ लिएको होइन मासी खाएको मात्रै हो ? गृहमन्त्री लामिछानेले यो प्रश्नको उत्तर दिएका छैनन् ।
जबकी उनको नाममा शेयर खरिद गर्दा नै यही रकम ट्रान्सफर गरिएको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

लामिछानेले विषयलाई तोडमोड गरेको स्पष्ट देखिन्छ । किनकी समाचारहरुमा उनले ऋण मात्रै लिएको भनिएको छैन ।

उक्त ऋण दुरुपयोग गरी टेलिभिजनको १५ प्रतिशत सेयर खरिद गरिएको उल्लेख छ । त्यता उनले स्पष्टिकरणमा बोलेका छैनन् । १५ प्रतिशत संस्थापक सेयरसहित ग्यालेक्सी टेलिभिजनको प्रबन्ध संचालक रहेका लामिछानेको सेयर खरिद गर्दा सोही सहकारी ठगीको रकम प्रयोग भएको अनुसन्धान प्रतिवेदनले नै भनेको छ । तर, देशको गृहमन्त्री जस्तो पदमा आसिन रहेका लामिछानेले भने यो विषयलाई तोडमोड गर्ने कोशिस गरिरहेका छन् । लामिछानेले त्यही टेलिभिजनको १५ प्रतिशत सेयर लिएको स्विकार गरेका छन् । तर, सहकारीको नाममा रकम दुरुपयोग गरि उनको नाममा सेयर किनिएकोे विषय भने थाहा नपाएजस्तो गरेका छन् । सारा बदमासीको हकदार जिबि राई मात्रै भएको भन्दै सामाजिक संजालमा राईले गरेको सबै बदमासी आफूले जिम्मा नलिने घोषणा गरेका छन् । तर, देशको गृहमन्त्रीले उनको नामबाट जम्मा भएको २ करोड रुपैयाँ कहाँ छ भन्ने प्रश्नको जवाफ अहिलेसम्म दिन सकेका छैनन् । किनभने सोही रकम पठाएको अभियोगमा रोशनी गुरुङ अहिले प्रहरी हिरासतमा छिन् । पैसा जसको लागि पठाइएको हो अर्थात गृहमन्त्री लामिछानेले पैसा नै नलिएको बताइरहेका छन् । त्यसैले उनका अनुयायीहरुले सोध्नुपर्ने भएको छ,‘गृहमन्त्री रवि दाई, …त्यो दुई करोड रुपैयाँ कहाँ छ ?’