जिउँदै इटाभट्टामा जलाएर व्यक्ति हत्या गर्ने कांग्रेस नेता आलमलाई जन्मकैदको फैसला

दियोपोस्ट संवाददाता  

जिउँदै इटाभट्टामा जलाएर व्यक्तिको हत्या गरेको अभियोग लागेका पूर्व मन्त्री एवं कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको फैसला भएको छ ।

१६ वर्षपछि रौतहटमा गरेको जघन्य अपराधमा संलग्न भएकोमा आलमसहितका ४ जनाविरुद्ध बिहीबार जिल्ला अदालत रौतहटले जन्मकैदको फैसला गरेको हो । चार वर्षदेखि विचाराधीन मुद्दामा अदालतले आलमसँगै महताब आलम, शेष सेराज र बद्री सहनीलाई पनि जन्मकैदको फैसला सुनाएका छ ।

यसरी फैसला सुनाइएकोमा महताब आफताबका आफ्नै भाइ हुन् । सेराज र बद्री उनका सहयोगी हुन् ।

रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले यस्तो फैसला सुनाएको हो ।

मुक्ति साहले सफाइ पाउँदा मोहम्मद मोबिन, शेष फजलेहक, शेष भदई, सागिर आलम, गौरीशंकर साह र शेष मालाकारको मुद्दा मुल्तबीमा राखिएको छ ।
आलम पुर्पक्षका लागि ललितपुरस्थित नक्खुको कारागारमा छन् ।

आलम पटकपटक मन्त्री र कांग्रेसबाट सांसद भइसकेका छन् । आलम ०५१, ०५६, ०६४ र ०७४ मा प्रतिनिधिसभा सांसद बनेका थिए ।

२०६४ सालको चैत २८ गते हुने संधिानसभाको निर्वाचन अगाडि २७ चैतमा मतदातालाई प्रभावित बनाउन र तर्साउन बम बनाउने क्रममा विष्फोट हुँदा उनीहरु घाइते भएका थिए ।

घाइते र प्रत्यक्षदर्शीलाई समेत विभत्स तरिकाले मारेर घटना लुकाउन इटा भट्टामा हालेर जिँउँदै जलाइएको थियो ।