रवि लामिछानेलाई पक्राउ गर्न पुग्यो प्रहरी, रविले भने,‘आजै गिरफ्तारी दिन्छु’

दियोपोस्ट संवाददाता  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउन आदेश दिएपछि प्रहरी उनको निवास पुगेको छ । प्रहरी पुगेपछि आजै गिरफ्तारी दिन्छु भन्दै लामिछानेले फेसबुक स्ट्याटस लेखेका छन् ।
शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा पठाउन आदेश गरेको हो।

न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृती पराजुलीको संयुक्त इजलासले लामिछानेबारे यसअघि जिल्ला अदालतले गरेको आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेका हुन्।
रूपन्देहीको सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराधमा जिल्ला अदालतमा मुद्दा चलेको थियो।
जिल्ला अदालतले लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश गरेको थियो। लामिछानेले धरौटी बदर गरी साधरण तारेखमा छाड्न माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए।
उनको निवेदनमा जिल्ला अदालतको आदेश उल्ट्याउँदै थुनामा पठाउन आदेश भएको हो।
सोही निवेदनमा पूर्वडिआइजी एवम् गोर्खा मिडियाको सञ्चालक समितिका तत्कालीन सदस्य छबिलाल जोशीको हकमा भने जिल्ला अदालतको आदेश सदर भएको छ।
उनलाई जिल्ला अदालतले यसअघि पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो।

सिफारिस