प्रमुख पाण्डेलाई कारबाही गर्न महानगरका कर्मचारी संगठनको ११ बुँदेसहितकाे माग

दियोपोस्ट संवाददाता  

काठमाडौं । काठमाडौं महानगर प्रहरी बलका राजुनाथ पाण्डेलाई कारबाही गर्न माग गर्दै महानगरका कर्मचारी तथा पेशागत संगठनले ज्ञापनपत्र बुझाएका छन्। उनीहरूले ११ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका हुन्। उनीहरूले अघि सारेको मागको १ नम्बर बुँदामै केही दिनअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय र कार्यकक्ष छिर्न नदिन राजु पाण्डे नेतृत्वको महानगर प्रहरीको व्यवहारसँग सम्बन्धित छ ।

बिहीबार राजुनाथ पाण्डेलाई कारबाहीको माग गर्दै संगठनले ज्ञापनपत्र बुझाएको प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले जानकारी दिए।

चैत २१ गते महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले मेयर बालेन शाहले कार्यकारीलाई कार्यालयमा छिर्न नदिनू भन्दै आदेश दिएको भनेर गुरागाईंलाई प्रवेश गर्न नदिन नगर प्रहरी परिचालन गरेका थिए। त्यसैले पाण्डेलाई महानगर प्रहरी ऐन अनुसार तत्काल निलम्बनमा गरी छानबिन गर्न माग उनीहरूले गरेका छन्।