विवादित उपसचिव साहलाई पुनः ललितपुर नापीको प्रमुखमा काज सरुवा गर्दै सचिव पोखरेल

दियोपोस्ट संवाददाता  

काठमाडौं । निजामती सेवा ऐन नियम अनुसार सरुवा गर्दा भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री र सचिवकै बिरुद्ध अदालतमा मुद्दा हाल्ने एक प्रमुख नापी अधिकृत(उपसचिव)लाई पुनः ललितपुर नापी कार्यालयको प्रमुखमा ल्याउन लागिएको छ । २ दिनपछि २०८२ बैशाख २ गते अवकाश हुन लागेका भूमि व्यवस्था मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल जाँदाजाँदै विवादित प्रमुख नापी अधिकृत उमेशकुमार साहलाई ललितपुर नापी कार्यालयमा सरुवा गर्दैछन् । आज(आइतबार) उनी साहलाई ललितपुर नापी कार्यालयमा काज सरुवाको पत्र दिन लागिएको छ ।

ललितपुर नापी कार्यालयमा रमेशकुमार ज्ञवाली सरुवा भएको १ बर्ष मात्र भएको छ । २ बर्षमा सरुवा गर्नुपर्ने निजामती सेवा नियमावलीमा ब्यवस्था छ । तर १ बर्षमै उनलाई सरुवा गरी विगतमा ललितपुर नापी कार्यालयको प्रमुख हुँदा मातहतका कर्मचारीलाई दररेट तोकेर घुस बुझाउन निर्देशन दिएकोमा आलोचित प्रमुख नापी अधिकृत उमेश कुमारलाई सचिव पोखरेललाई काजमा पठाउन लागिएको छ ।

साह कार्यालय प्रमुख हुँदा ललितपुर नापीमा पटक पटक घुसकाण्डमा कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको थियो । साहले फाइल गनेर माग्ने गरेकाले कर्मचारीहरु सेवाग्राहीसँग नियम कानुन अनुसारका काम गर्दा समेत लाखौं घुस माग्दा अख्तियारको स्टीङ अप्रेसनमा पर्ने गरेका थिए । ललितपुर नापीमा बदनाम भएका तिनै साहलाई पुनः त्यहीँकाे कार्यालय प्रमुखमा पठाउन भूमि व्यवस्था सचिव पोखरेलले कुस्त नजराना लिएको आरोप छ । अवकाश हुन लागेका सचिवलाई आर्थिक सहयोग गरी ललितपुरमा दोस्रोपटक जान लागेका साह कर्मचारीहरुकै अगाडि सिधै पोखरेललाई ‘ओ सचिवजी’ भनेर लाउडस्पीकरमा कुरा गरी तुजुक देखाउँदैआएका छन् ।

अख्तियारमा २०८० असोज २ गते परेको सी–०१७७८४ दर्ता नम्बरको उजुरीमा उनीमाथि भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेकाले छानबिन गर्न माग गरिएको छ ।
कार्यालय प्रमुख साहले एक वर्ष ललितपुरको नापी प्रमुख हुँदा नख्खु खोला करिडोरमा पर्ने नगर १३ सिट नम्बर १०२–१२६४–०३ कि.न. ३४७८ को सरकारी जग्गा आर्थिक प्रलोभनमा व्यक्तिको नाममा हाल साविक (अद्यावधिक) गरेका छन् ।

साविक भैंसेपाटी गा.वि.स. वडा नं।. ६ ‘क’ कि.न.४६९ को सरकारी जग्गा हाल नयाँ नापीमा कार्यविनायक नगरपालिका वडा नं. ४ कि।न। १३५४ नेपाल सरकारको नाममा हुनुपर्नेमा नापी कार्यालयका प्रमुख साहले आर्थिक लाभ लिई व्यक्तिको नाममा हाल साविक गरी सरकारी जग्गा हिनामिना गरेको अख्तियारमा दर्ता भएको उजुरीमा उल्लेख छ ।
नापी कार्यालय ललितपुरका प्रमुख साहले व्यापक भ्रष्टाचार गरी अकूत सम्पत्ति आफ्नो नाममा, श्रीमती तथा आफन्तका नाममा साथै साथीको नाममा काठमाडौं उपत्यका लगायतका ठाउँमा जग्गा जोडेको उजुरीमा उल्लेख छ ।

उनले २५ करोड भन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको देखिएकाले उक्त सम्पत्ति छानबिन गर्न माग गरिएको छ ।

उजुरीमा उल्लेख छ– नापी कार्यालय ललितपुरका कार्यालय प्रमुख साहले ललितपुरको धापाखेल ८ ‘ख’ कि.न. २७५८, २७६३ समेत गरी ३ वटा प्लट ९०–१२–०–०० ४–४ आनाको जग्गा २ वटा आफ्नो नाममा किनेको र एक कित्ता साथीको नाममा किनेको सो जग्गा प्रतिआना २२ लाख रुपैयाँका दरले २ करोड ६४ लाखमा किनेका हुन् ।

उक्त जग्गा आफ्नो नाममा खरिद गर्दा साहले अर्को नापी अधिकृतले थाहा पाउँछ भनेर आफैं प्रमाणित गरेका थिए । यसरी साहले आफ्नो नामको लिखत आफैं प्रमाणित गरेका छन् । आफ्नो नामको लिखतमा आफैं हस्ताक्षर गर्न मिल्दैन । नापी कार्यालय ललितपुरमा आर्थिक रुपमा घुस उठाउने गिरोह नै साहले चलाएका छन् ।

उनले अनियमितता गरी कमाएको सम्पत्तिबाट मनोहरा जग्गा एकीकरण आयोजना भक्तपुर लोकन्थलीमा साढे ३ तला घर ६ आना क्षेत्रफलमा बनाएर बसेका छन् । उक्त घरको हालको न्यूनतम मूल्य ५ करोडभन्दा बढी पर्न आउँछ ।

यी सबै तथ्यसहित अख्तियारमा उजुरी दर्ता भएको र आयोगले छानबिन अगाडि बढाई २–३ पटक बयान समेत लिइसकेको थियो । तर पछिल्ला दिनमा उनले अख्तियारसमेत मिलाएको, अब मुद्दा दर्ता हुन नसक्ने भन्दै पुनः ललितपुरको कार्यालय प्रमुख हुने र बिगतमा जस्तै नापीमा महिनामा दसौं लाख घुस असुल्ने दाउमा छन् ।