काठमाडौँ । सत्तारूढ दल नेकपा एमाले र नेपाली कांग्रेसको उच्चस्तरीय संयन्त्रको बैठक बालुवाटारमा सुरू भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा दुवै दलको कार्यदलस्तरको बैठक सकिएपछि संयन्त्रको बैठक सुरू भएको हो।
संयन्त्रको बैठकका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि बालुवाटार पुगेका छन्। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भइसकेका छन्।
बैठकमा एमालेका तर्फबाट ओलीका अलावा उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल सहभागी छन्।
सत्तारुढ कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा सहभागी छन् । बैठकमा संयन्त्रका सदस्य कांग्रेस महामन्त्री गगन थापा भने बैठकमा सहभागी छैनन् ।
कांग्रेस र एमालेबीच सरकार सञ्चालनका विषयमा सार्वजनिक रुपमा मतभेद देखिन थालेपछि लामो समयको अन्तरालमा प्रधानमन्त्री ओलीले दुई दलीय संयन्त्रको बैठक बोलाएका हुन् । एमाले सचिवालयको पछिल्लो बैठकले कांग्रेससँग देखिएको आशंकाबारे संयन्त्रमै छलफल गर्नुपर्ने निर्णय गर्दै पार्टीअध्यक्षसमेत रहेका प्रधानमन्त्रीलाई जिम्मेवारी दिएको थियो ।
यसअघि मंगलबार बिहान बालुवाटारमै देउवा र ओलीबीच छलफल भएको थियो।