काठमाडौं । गत चैतदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै आएका शिक्षकहरूको आजको प्रदर्शन सकिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज दिउँसो प्रदर्शन गर्न लागेपछि शिक्षकहरूले बिहान ९ बजेदेखि प्रदर्शन गरेका थिए भने छोटो समय मात्रै प्रदर्शन गरेर आजका विरोधका कार्यक्रम सकेका हुन् ।
राप्रपाको प्रदर्शनले गर्दा शिक्षकहरूको प्रदर्शन भने प्रभावित भएको छ। चैत २० गतेदेखि शिक्षकहरू सोही क्षेत्रमा प्रदर्शन गर्दै आएका छन्। शिक्षकहरूले मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म सो क्षेत्रमा प्रदर्शन गर्दै आएका छन्। तर आइतबार भने शिक्षकहरूले बिहानै प्रदर्शन सकाएका छन्। मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म प्रदर्शन गर्ने शिक्षकहरूले आइतबार भने बिहान ११ बजे नै प्रदर्शन सकेर फर्किएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आज प्रदर्शन गर्दै छ। राप्रपाले आज काठमाडौंको बिजुली बजारमा प्रदर्शन गर्न लागेको हो।
प्रदर्शनलाई हिंसात्मक हुन नदिनका लागि काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सिंहदरबार, संसद भवन, माइतीघर मण्डला, बालुवाटार, राष्ट्रपति भवनलगायतका निषेधित क्षेत्रहरूमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ। यता राप्रपाले भने बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने घोषणा गरेको छ।
हरेक दिन बिहान ११ बजेदेखि ३ बजेसम्म प्रदर्शन गर्दै आएका थिए । तर, आज राप्रपाले सोही क्षेत्रमा प्रदर्शन गर्ने भएपछि आन्दोलन बिहान ९ बजेदेखि १२ बजेसम्मका लागि तय गरिएको थियो । भोलिबाट बिहान ११ बजेदेखि ३ बजेसम्म नै प्रदर्शन गरिने अध्यक्ष भण्डारीले बताए ।