राप्रपाको आन्दोलन बानेश्वरमा केन्द्रित, निषेधित क्षेत्र तोड्ने तयारी

दियोपोस्ट संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा)ले आज राजधानीमा गर्न लागेको आन्दोलन नयाँ बानेश्वरमा केन्द्रित भएको छ । राजसंस्था पूर्नस्थापनाको मागसहित निरन्तर आन्दोलन गरिरहेको राप्रपाले निषेधित क्षेत्र तोड्ने तयारीका साथ बानेश्वरमा केन्द्रित भएको हो ।

यसअघि बालुवाटार र भद्रकालीसहित तीन स्थानबाट शक्ति प्रदर्शनसहित र्याली निकाल्ने तयारी गरेको भएता पनि पार्टीका शीर्ष नेताहरूको तत्काल बसेको अनौपचारिक बैठकले आजको आन्दोलन बिजुली बजार हुँदै नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रसम्म केन्द्रित हुने निर्णय गरेको राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले बताए ।

बैठकको निर्णय अनुसार तत्काल राणनीति परिवर्तन गरि पहिलो दिनमै निषेधित क्षेत्र तोड्ने तयारी गरेको उनले बताए । र्याली बिजुलीबजारबाट बानेश्वरतिर आएर निषेधित क्षेत्र तोड्ने तयारी गरेको तामाङले जानकारी दिए ।

प्रदर्शनका लागि राप्रपा नेता कार्यकर्ता तथा राजसंस्थाका समर्थकहरू अहिले बिजुलीबजारमा भेला भएका छन् । त्यहाँबाट अध्यक्ष राजेन्द्र लिङदेनले नेतृत्व सम्हालेका छन् ।

यसअघि राप्रपाले गत चैत २५ गते बल्खुमा शान्तिपूर्ण जनप्रदर्शन गरेको थियो । उक्त जनप्रदर्शन सोचेजस्तो प्रभावकारी हुन नसके पनि राप्रपाले आन्दोलनलाई निरन्तरता दिँदैछ । राप्रपाले निषेधित क्षेत्र तोड्ने तयारी गरेपछि नयाँ बानेश्वर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।