काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट आफूहरूलाई निस्किन नदिएको बताएका छन् । आइतबार राप्रपाले निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने निर्णय गरेको छ। त्यसअनुसार राप्रपाका कार्यकर्ताहरू बानेश्वरमा निषेधित क्षेत्र अगाडि प्रदर्शन गरिरहेका छन्।
त्यसैबीच राप्रपाका सांसदहरू संसदीय दलको कार्यालयमा छन्। राप्रपाका प्रवक्ता एवम सांसद ज्ञानेन्द्र शाहीले भने आफूहरूलाई संसदीय दल बाहिर निस्किन नदिन प्रहरी आएर बसेको बताएका छन्।
उनीसहित दिपकबहादुर सिंह र बिना जयसवाल कार्यालयमा छन्। प्रहरीको दुई वटा भ्यान संसदीय दलको कार्यालय बाहिर राखिएको छ।
बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्ने तयारीसम्बन्धी भइरहेको छलफलको क्रममा थिए । राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आफूहरूलाई सिंहदरबारको संसद दलको कार्यालयमा डीएसपीको कमाण्डमा बन्धक बनाइएको बताएका छन् ।