भारतीय ऊर्जा मन्त्री नेपालमा, यस्तो छ कार्यक्रम !

दियोपोस्ट संवाददाता

काठमाडौँ । भारतका ऊर्जा, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर आज नेपाल आएका छन् । नेपालस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा उनी आज बिहान दुई दिने भ्रमणका लागि नेपाल आएका हुन् ।
ऊर्जामन्त्री खट्टरले आज दिउँसो भारत सरकारको सहयोगमा निर्माण सम्पन्न कोशी कोरिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा–वसन्तपुर–बानेश्वर–तुम्लिङटार प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सबस्टेसन, २२०/३३ केभी बानेश्वर सबस्टेसन र २२०/१३३/३३ केभी वसन्तपुर सबस्टेसनको संयुक्त रूपमा सङ्खुवासभाको तुम्लिङटार सबस्टेसनमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
ऊर्जामन्त्री खट्टरले आजै भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ । सोही दिन दुई देशले संयुक्त रूपमा निर्माण गर्न लागेको प्रसारण लाइन निर्माणका लागि स्थापना गरिएको कम्पनीको सम्झौतापत्रमा हस्ताक्षर हुने मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ । आज नै मन्त्रीद्वयको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेसन इन्डियाबिच दुई अन्तर्देशीय प्रशारणलाइन निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार ४०० केभी क्षमताका दोधारा (लुम्की) बरेली र इनरुवा–पूर्णिया अन्तर्देशीय प्रसारणलाइन निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।
भोलि खट्टर मुस्ताङको मुक्तिनाथ क्षेत्रको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ। भोलि नै उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ । भरतीय विद्युत मन्त्री खट्टरले सोही दिन साँझ पशुपतिनाथको दर्शन गर्नेछन् ।