
काठमाडौं । ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ बर्खास्तीमा परेका छन् । राज्यमन्त्री तामाङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पदबाट बर्खास्त गरेका हुन् ।
यसअघि सरकारले बर्खास्त गरेका नेपाल विद्युत प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङको पक्षमा उनले सार्वजनिक अभिव्यक्ति दिएका कारण उनलाई बर्खास्त गरेको बताइएको छ । घिसिङसँग मिलेर आफूले डेडिकेटेड र ट्रंक लाइन विवादमा रहेका उद्योगहरुको लाइन काट्दै हिँड्ने उनले बताएका थिए ।
त्यतिमात्रै होइन, सिँचाइ विभागको कार्यक्रममा आफूसँग मञ्चमा नबसेको भन्दै उनले मन्त्रालयका सचिव सुरेश आचार्यलाई स्पष्टीकरण सोधेका थिए । जबकि, सचिवलाई स्पष्टीकरण सोध्ने अधिकार राज्यमन्त्रीलाई हुँदैन । मुख्यसचिवले मात्रै सचिवलाई स्पष्टीकरण सोध्नसक्ने व्यवस्था कानूनमा छ ।
स्रोतका अनुसार गृहमन्त्री रमेश लेखकले तामाङलाई बर्खास्तमा परेको टेलिफोनमार्फत् जानकारी गराएका छन् ।