काठमाडौँ । आन्दोलनरत शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले लाठी चार्ज गर्दा दर्जनौँ शिक्षकहरु घाइते भएका छन् । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको भन्दै उनीहरुले गृहमन्त्रीको राजीनामा समेत माग गरेका छन् ।
प्रहरीसँगको झडपपछि शिक्षकहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरे । ‘गृहमन्त्री राजीनामा दे’ भन्दै नाराबाजी गर्नुका साथै उनीहरूले सरकारविरुद्ध नाराबाजीमा उत्रिएका थिए ।
नयाँ बानेश्वरमा प्रहरीसँग झडपपछि एक दर्जनभन्दा बढी शिक्षकहरू घाइते भएका छन् । नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाले झडपपछि घाइते भएका शिक्षकहरू उपचार भइरहेको बताए । बढी चोट लागेका शिक्षकहरूलाई उपचारका लागि सिभिल हस्पिटल लगिएको छ भने सामान्य चोट लागेका शिक्षकहरूको आन्दोलनस्थलमै सामान्य उपचार गरिएको बताइएको छ ।
नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीहरूमाथि लाठी प्रहार गर्नुका साथै पानीको फोहोर हानेको थियो । प्रहरीको तर्फबाट बल प्रयोग भएपछि शिक्षकहरू प्रतिकारमा उत्रिनु परेको शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । आन्दोलनरत शिक्षकहरूले समेत सडक छेउछाउ भएका ढुंगा प्रहरीमाथि प्रहार गरेका थिए ।
प्रहरीसँगको झडपपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक आह्वान गरेको छ । आन्दोलनले उग्र रूप लिएपछि महासंघले आकस्मिक बैठक आह्वान गरेको हो ।
आज दिउँसो तीन बजे बानेश्वरमा रहेको रत्नराज्य माविमा बैठक बोलाइएको छ । बैठकमा महासंघका पदाधिकारीहरू, जिल्ला अध्यक्षहरू, आन्दोलन परिचालन समितिका पदाधिकारीहरूलाई बोलाएको छ । बैठकमा आज भएको घटना तथा समग्र आन्दोलनका विषयमा छलफल हुने महासंघ अध्यक्ष सुवेदीले बताए ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै गत चैत २० गतेदेखि शिक्षक तथा विद्यालय कर्मचारीहरू सडक आन्दोलन गर्दै आएका छन् । उनीहरूले चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा गर्दै शैक्षिक कार्यक्रम ठप्प पार्दै आएका छन् । उनीहरूले ऐन जारी नहुँदासम्म कुनै पनि हालतमा सडक आन्दोलन नरोक्ने चेतावनी दिए ।