
काठमाडौँ । विद्यालय शिक्षा ऐनलगायतका माग राखेर शान्तिपूर्ण आन्दोलन गरिहेका शिक्षकमाथिको दमन निन्दनीय भएको भन्दै माओवादी केन्द्रले भ्रत्सना गरको छ । केन्द्रले आइतबार प्रेस बिज्ञप्ती जारी गर्दै शिक्षकमाथिको दमन निन्दनीय भएको बताएको हो ।
नेपाल शिक्षक महासंघको नेतृत्वमा विगत २५ दिनदेखि सडकमा ओर्लिएका देशभरका शिक्षकसँग छलफल गरी समस्या समाधान गर्नुको सट्टा सरकार आन्दोलन दबाउन उद्यत भएको भन्दै यस्तो कार्य निन्दनीय भएको विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ, ‘आन्दोलनरत शिक्षकहरु र समाचार संकलन गरिरहेका संचारकर्मीमाथि भएको नृशंस दमनको हाम्रो पार्टी घोर भत्सर्ना गर्दछ। शिक्षकहरुमाथि भएको सरकारी दमनले गुरुवर्गको मात्र होइन समस्त बौद्धिक जगतको आत्मसम्मानमा चोट पुगेको छ ।’
विज्ञप्तीमा शिक्षकमाथिको यस्तो कार्य सरकारको विवेकशुन्य र गैरजिम्मेवारीको पराकाष्ठामात्र नभएर समस्या समाधान गर्न सर्वोच्च अदालतले गरेको आदेशको समेत ठाडो उल्लंघन भएको भन्दै यो घटनाबाट सरकार शिक्षकहरुसँग इमान्दारीपूर्वक सार्थक वार्ता गर्नुको सट्टा घुसपेठ गराउने, फुटाउने र दमन गर्नेतिर उद्दत देखिएकाले आशंका पुष्टि भएको उल्लेख छ ।
बहुमतको दम्भ र अहंकार त्यागी निकासका लागि सरकारले गम्भीरतापूर्वक पहल गर्न माओवादी केन्द्रले बिज्ञप्ती मार्फत आग्रह गरेको छ । ‘अझै पनि शिक्षकलाई तर्साउने, गलाउने र थकाउने काममा सरकार लाग्नु भनेको परिस्थितिलाई थप भड्काउनु हो भन्दै माओवादी केन्द्रले यसप्रकारका हर्कतहरु तुरुन्त बन्द गर्न र इमान्दारीपूर्वक वार्तामार्फत् शिक्षकका माग पूरा गरी छिटोभन्दा छिटो शिक्षकहरुलाई कक्षा कोठामा फर्काउने वातावरण बनाउन समेत माग गरेको छ ।’
साथै, विज्ञप्तीमार्फत आइतबारको दमनबाट गम्भीर घाइते भएका शिक्षकहरु एवं संचारकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
