शिक्षालाई अनिश्चितताबाट मुक्त गर्न ‘वार्ता’ र ‘संवाद’मार्फत समाधान खोजिनु पर्छ : प्याब्सन

दियोपोस्ट संवाददाता

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले शिक्षकहरुको आन्दोलनले शिक्षा क्षेत्रमा गम्भीर समस्या निम्त्याउन सक्ने भन्दै शिक्षालाई अनिश्चितताबाट मुक्त गर्न ‘वार्ता’ र ‘संवाद’ मार्फत समाधान खोज्नुपर्नेमा जोड दिएको छ। प्याब्सन अध्यक्ष कृष्णप्रसाद अधिकारीले जारी गरेको विज्ञप्तिमा शिक्षा क्षेत्रमा उत्पन्न जटिलता र अन्योलप्रति गहिरो चिन्ता व्यक्त गर्दै तत्काल जिम्मेवारीपूर्वक पहल गर्न सरकार र सरोकारवाला पक्षहरूलाई आग्रह गरिएको हो ।

विज्ञप्तिमा तीन हप्तादेखि जारी आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगन, नयाँ शैक्षिक सत्र प्रारम्भ नहुनु र माध्यमिक शिक्षा परीक्षाको उत्तरपुस्तिका परीक्षण रोकिएको प्रति प्याब्सनले चिन्ता ब्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘शिक्षा ऐनको तर्जुमा प्रक्रियालाई तीव्र बनाउँदै दीर्घकालीन समाधानको बाटो पहिचान गर्न सरकारसँग आग्रह गर्दछौँ ।’ साथै, शिक्षक महासङ्घलाई पनि सहजीकरणका उपाय अवलम्बन गर्दै निकास खोज्न अनुरोध गरिएको छ।