नेपाल विद्युत् प्राधिकरणको ‘श्वेतपत्र’ सार्वजनिक कार्यक्रम स्थगित !

दियोपोस्ट संवाददाता  

काठमाडौं । आज सार्वजनिक गर्ने भनिएको नेपाल विद्युत् प्राधिकरणको श्वेतपत्र स्थगित भएको छ । कार्यकारी निर्देशक हितेन्द्रदेवको सचिवालयका अनुसार प्राविधिक कारणले श्वेतपत्र सार्वजनिक कार्यक्रम स्थगित गरिएको हो ।

सरकारको बर्खास्तीमा परेका कुलमान घिसिङको पालामा भएगरेका आर्थिक एवं प्राविधिकलगायतका विवरण समेटेर आज दिउँसो श्वेतपत्र निकाल्ने प्राधिकरणको तयारी थियो ।

प्राविधिक कारणले अर्को सूचना नआउँदासम्म कार्यकारी निर्देशकबाट श्वेतपत्र जारी गर्ने कार्यक्रम स्थगित गरिएको जानकारी कर्मचारीहरूमा दिइएको छ । प्राधिकरणमा कुलमान बर्खास्तमा परेर नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आएसँगै प्राधिकरणको आर्थिक अवस्था जटिल रहेको सार्वजनिक कार्यक्रमहरूमा बोल्दै आएका छन् ।

श्वेतपत्रमा प्राधिकरणले चालु आर्थिक वर्षको फागुनसम्म ठेक्कापट्टामा ११ अर्ब ६१ करोड रुपैयाँ बराबरको भुक्तानी दायित्व रहेको उल्लेख गरेको स्रोतले जानकारी दिएको थियो।