नाउपा र जनमत पार्टीबीचको ‘एकता’ घोषणा कार्यक्रम स्थगित, कार्यकर्ता घर फर्किए !

दियोपोस्ट संवाददाता

काठमाडौँ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको एकता घोषणा कार्यक्रम स्थगित भएको छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि एकता घोषणा कार्यक्रम स्थगित भएको हो ।

ती दुई पार्टीबिच ११ बजेका लागि घोषणा कार्यक्रम राखिएको थियो । तर चौधरी पक्राउ परेपछि आजको घोषणा कार्यक्रम स्थगित गरिएको जनमत पार्टीका अध्यक्ष सिके राउतले बताए ।

उनले रेशम चौधरी पक्राउ परेकोमा भर्त्सना गर्दै पार्टी एकीकरण हुनै लाग्दा चौधरीलाई प्रहरीले कार्यक्रम स्थलबाट पक्राउ गरेर पुरानो फैसला कार्यान्वयन गर्नका लागि डिल्लीबजार जेल पठाएको बताए । कार्यक्रमस्थलबाट पक्राउ गर्नु अलोकतान्त्रिक भएको भन्दै उनले अधिकार माग्नै नहुने, बोल्नै नहुने जस्तो व्यवहार सरकारले देखाएको बताए ।

राउतले घोषणा कार्यक्रम स्थगित भएको भन्दै सबै नेता तथा कार्यकर्तालाई घर फर्किन आग्रह गरेका छन् । दुई पार्टीबीचको एकता घोषणा कार्यक्रम राजधानीको प्रज्ञा भवनमा राखिएको थियो ।