
अर्घाखाँची । मालारानी गाउँपालिका वडा नं ४ निगालीटोल बस्ने २२ बर्षिया प्रिति बिकलाई आफ्नै छिमेकीले निर्घात कुटपिट गरेका छन् । बुधबार दिउँसो धारामा पानी लिन गएको बेला सोही ठाउँका डिलाराम रिजालले बिकलाई निर्घात कुटपिट गरेका हुन् ।
रिजालको कुटाईबाट सख्त घाइते भएकी बिकको जिल्ला स्वास्थ्य कार्यालय सन्धिखर्कमा उपचार भइरहेको छ । उपचारमा संलग्न डाक्टरका अनुसार बिकको शरिरमा थुप्रै लिडाम हुनुका साथै हात, खुट्टा र ढाडमा देखिने खालका थुप्रै चोट छन् ।

रिजालले आफ्नो पँधेरामा पानी भर्न आएको भन्दै बिकलाई गाली गलौज गरेका थिए । ‘मेरो जग्गामा भएको पँधेरामा तिमीहरुले पानी भर्न पाउँदैनौँ । अबदेखि यो मन्दिरदेखि तल झरेर पानी लिन आउने होइन,’ भन्दै बिकमाथि जाइलागेको प्रत्यक्षदर्शी अस्मिता सुनारले जानकरी दिइन् । रिजालले बिकलाई लठ्ठी र मुक्का प्रहार गरि निर्घात कुटपीट गरेका थिए ।

रीजालले जातीय गाली गलौज गरेको नदेखिए पनि उनीमाथि कुटपीट हुनुमा जातीय कारण प्रष्ट देखिएको अधिकारकर्मी अनिल नेपलीले बताए । उनले भने, ‘घटनाको पाँच मिनेटको भिडियो बनाईएको रहेछ । भिडियो हामीले पनि हेर्यौ । पीडकले कहीँकतै जातीय रुपमा अपमानित हुने खालका शब्दहरु प्रयोग गरेर गाली गरेको देखिएन । तर, पीडकको ब्यवहार र घटनाको प्रकृति हेर्दा पीडितमाथि जातीय कारणले कुटपीट भएको प्रष्ट देखिन्छ ।’
पीडितको उजुरीका आधारमा पीडकलाई तत्काल पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर मल्लले जानकारी दिए । उनले भने, ‘पीडकलाई पक्राउ गरिएको छ । उनीमाथि अनुसन्धान भइरहेको छ ।’ पीडितको जाहेरीका अधारमा हातपात, गाली बेइजत्ती तथा अभद्र ब्यवहार सम्वन्धि मुद्धमा पीडकलाई कारवाही हुन सक्ने उनले बताए ।
अधिकारकर्मी तथा संचारकर्मी कमल प्रभातले घटनाको भ्रत्सना गरे । उनले घटनालाई कानुनको आँखाबाट हेर्दा घटना असामान्य रहेको बताए । घटनाको सत्यतथ्य अनुसन्धान गरी पीडितलाई न्याय र पीडकलाई कारबाहीको दायरामा ल्याउनु पर्ने उनको भनाई छ ।