अमेरिका-इरानबीच दुई साताका लागि युद्धविराम

दियोपोस्ट संवाददाता  

एजेन्सी । अमेरिका र इरानबीच जारी तनावपूर्ण अवस्थाबीच अन्ततः दुई साताका लागि युद्धविराम गर्ने सहमति भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समयसीमा सकिनुभन्दा केही घण्टाअघि उक्त घोषणा गरेका हुन्।

अमेरिकाले यसअघि इरानलाई महत्त्वपूर्ण जलमार्ग तत्काल खोल्न वा विनाशकारी सैन्य आक्रमणको सामना गर्न चेतावनी दिएको थियो। तर अन्तिम समयमा दुवै पक्षबीच कूटनीतिक प्रयास सफल भई अस्थायी युद्धविराममा सहमति भएको जनाइएको छ।

सम्झौता अनुसार इरानले होर्मुज जलडमरु मध्य सुरक्षित रूपमा सञ्चालनमा ल्याउने तथा अमेरिका र उसका सहयोगी राष्ट्रहरूले आक्रमण रोक्ने सहमति गरेका छन्। यो जलमार्ग विश्व ऊर्जा आपूर्तिको दृष्टिले अत्यन्तै संवेदनशील मानिन्छ।

युद्धविरामलाई दुवै पक्षले अस्थायी कदमका रूपमा व्याख्या गरेका छन्। इरानले यसलाई स्थायी समाधान नभएको स्पष्ट पार्दै सर्त उल्लङ्घन भए कडा प्रतिक्रिया दिने चेतावनी दिएको छ।

यसैबीच, अन्तर्राष्ट्रिय समुदायले युद्धविरामलाई स्वागत गरेको छ। मध्यपूर्वमा व्यापक द्वन्द्वको जोखिम केही समयका लागि कम भएको विश्लेषण गरिएको छ। तेल बजारमा समेत यसको सकारात्मक प्रभाव देखिएको छ।

दुई साताको अवधिमा थप कूटनीतिक वार्ता हुने अपेक्षा गरिएको छ। दीर्घकालीन समाधानका लागि दुवै देशबीच संवाद आवश्यक रहेको अन्तर्राष्ट्रिय विश्लेषकहरूको भनाइ छ।

सिफारिस