काठमाडौँ । धनुषा जिल्ला प्रहरी कार्यालयका वरिष्ठ नायव निरीक्षक (सई) सागरशम्सेर जबरा निलम्वनमा पर्ने भएका छन् । प्रहरी संगठनलाई बद्नाम गर्ने उद्देश्यले बनावटी कथा रचेर अडियो प्रचार गरेको आरोपमा उनलाई निलम्बन गर्ने प्रक्रिया अघि बढाइएको हो ।
प्राप्त विवरण अनुसार, जबराले एक व्यापारीसँग फोन सम्पर्क गरी काल्पनिक कथा प्रस्तुत गर्दै अडियो सार्वजनिक गराएको आरोप लागेको छ। उक्त गतिविधिले प्रहरी संगठनको छवि धूमिल बनाउने प्रयास भएको ठहर गरिएको छ।
यस विषयलाई गम्भीर रूपमा लिँदै मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन प्रक्रिया सुरु गरेको जनाएको छ। साथै, घटनामा उच्च पदस्थ प्रहरी अधिकारी, विशेषगरी डीआईजीको नाम जोडेर बद्नाम गराउने प्रयास भएको आशंका गरिएको छ।
मधेश प्रदेश प्रहरी कार्यालयका एसपी तथा सहायक प्रवक्ता भेषराज रिजालले जारी गरेको विज्ञप्तिमा जबरालाई प्रहरी नियमावली अनुसार निलम्बन गर्न प्रक्रिया अघि बढाइसकिएको उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “संगठनलाई नै बद्नाम गराउने उद्देश्यले प्रहरी आचरण विपरीत कार्य गरेको हुँदा निलम्बनको प्रक्रिया सुरु गरिएको हो।”
हाल घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
