काठमाडौं । थापाथलीस्थित सुकुमबासी बस्तीमा शुक्रबार बिहानैदेखि तनावपूर्ण अवस्था सिर्जना भएको छ। सरकारले सो क्षेत्रका सुकुमबासीहरुलाई हटाउने तयारी गरेसँगै स्थानीयवासीले विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार परियारलाई स्थिति नियन्त्रणमा लिनका लागि पक्राउ गरिएको हो।
स्थानीयवासीले भने आफूहरूलाई वैकल्पिक व्यवस्था नगरी जबरजस्ती हटाउन खोजिएको भन्दै विरोध जनाएका छन्। प्रदर्शनका क्रममा नाराबाजी, सडक अवरोध र प्रहरीसँग सामान्य धकेलाधकेलसमेत भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
सरकारले भने बागमती नदी किनार क्षेत्रको संरक्षण, वातावरणीय व्यवस्थापन तथा अतिक्रमण हटाउने अभियानअन्तर्गत सुकुमबासी बस्ती हटाउन लागेको जनाएको छ। तर, सुकुमबासी अधिकारकर्मीहरूले दीर्घकालीन बसोबासको समस्या समाधान नगरी यस्तो कदम चाल्नु अनुचित भएको बताएका छन्।
हाल सो क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ भने स्थिति नियन्त्रणमा लिन प्रयास जारी रहेको जनाइएको छ। पक्राउ परेका परियारमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
