वालिङ, १५ वैशाख । स्याङ्जाको फेदिखोला गाविसमा निर्माण हुन लागेको साझा सुविधा केन्द्र भवनका लागि एक स्थानीय समाजसेवीले निःशुल्क जग्गा दान दिएका छन् ।
घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय स्याङ्जाद्वारा फेदीखोला गाविसमा सञ्चालन गरिएको गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत गठन गरिएको साझा सुविधा केन्द्रका लागि जग्गा प्रदान गरिएको हो ।
“मनकामना बाख्रापालन लघुउद्यमी समूह र जनजागरण मौरीपालन लघुउद्यमी समूहका उद्यमीका लागि घरेलु विकास समितिबाट निर्माण गर्ने साझा भवनका लागि निःशुल्करुपमा जग्गा प्रदान गरेको हुँ”, समाजसेवी भीमनारायण सुवेदीले बताए, “भवनको अभावमा कार्य सञ्चालनमा बाधा भएको महसुस गरी निःशुल्करुपमा एक लाख मूल्य पर्ने तीन आना जग्गा हस्तान्तरण गरेको छु ।”
घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय स्याङ्जाले फेदीखोला गाविसका अत्यन्त विपन्न घरपरिवारका दलित तथा जनजाति समूहबाट छनोट गरी उद्यमशीलतालगायत सीप विकास तालिमको माध्यमबाट गरिबी न्यूनीकरणमा सहयोग गर्ने कार्यक्रम सञ्चालन गरेकाले आफू प्रभावित भई गरिबको सहयोगका लागि निःशुल्क जग्गा प्रदान गरेको सुवेदीले बताए ।
लघुउद्यमीको सहभागिता र कार्यालयको लगानीमा साझा सुविधा भवन निर्माण गरिने कार्यक्रम रहेको छ । सो भवन निर्माणपश्चात् सो क्षेत्रका विभिन्न विषयका करिब ३० जना उद्यमीलाई प्रत्यक्ष सहयोग पुग्ने साना तथा घरेलु उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत शिवशङ्कर बानियाँले बताए ।