अमेरिकाका केही दक्षिणी राज्यमा आँधीले ट्रोनेडोको रूप लिएर बाढी आएपछि कम्तीमा आठ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। र धेरै व्यक्ति घाइते भएका
टेक्सस राज्यमा रूख ढलेर एउटा कारलाई किच्दा दुई बालबालिकाको ज्यान गएको छ। कारको अगाडिको सिटमा बसेका ती बालबालिका अभिभावक भने सकुशल छन्।
मिसिसिपी, टेक्सस र लुइजियाना राज्यबाट मानवीय क्षतिका विवरण प्राप्त भएका छन्।
अमेरिकी सञ्चारमाध्यमका अनुसार सडकमार्गहरूमा थुप्रिएको अवशेषका कारण केही घाइतेहरूलाई घण्टौँसम्म पनि उद्धार गर्न सकिएको छैन।
अधिकारीहरूले आँधी पूर्वी तटतर्फ जान सुरु गर्नुअघि कम्तीमा ११ वटा ट्रोनेडोले तीनवटा राज्यलाई छोएको बताएका छन्।
ओहायो, दक्षिणी क्यारोलाइना र भर्जिनियामा पनि सोमवार ट्रोनेडोको चेतावनी दिइएको थियो।
टेक्ससको ड्यालसबाट २४० किलोमिटर दक्षिणपूर्वस्थित पोलकमा एउटा सल्लाको रूख ढलेर एउटा परिवार चढेको कारलाई किच्दा दुई बालबालिकाको निधन भएको थियो।
स्थानीय प्रहरी अधिकारीका अनुसार त्यो रूख कारलाई रोटी जस्तो हुनेगरी किच्याएको थियो।
ज्यान गुमाउने बालबालिकामध्ये एक जना आठ र अर्का तीन वर्षका थिए।
एउटा सन्दिग्ध ट्रोनेडोले टेक्ससको अल्टोमा पनि प्रहार गर्यो।
त्यहाँ रैथाने अमेरिकीहरूको सांस्कृतिक कार्यक्रममा सहभागी एक व्यक्तिको ज्यान गयो भने झन्डै दुई दर्जन व्यक्तिहरू घाइते भएको अधिकारीहरूले समाचारसंस्था एपीलाई बताएका छन्।
टेक्ससकै फ्र्याक्लिनमा ५५ वटा घर तथा सार्वजनिक भवनसमेत ६० वटा भवन भत्किएको स्थानीय अधिकारीहरूले बताएका छन्।
मिसिसिपीको ह्यामिल्टनमा पनि सामुदायिक अग्निनियन्त्रण केन्द्रसहित दर्जनौँ घरहरू भत्किएका छन्।
सीएनएनका अनुसार एक अग्निनियन्त्रकले रेडियोमा भने, “हामीलाई सीधैँ झड्का लाग्यो। अग्निनियन्त्रण कक्ष भत्कियो।”
मिसिसिपीको मोन्रो काउन्टीमा एक ९५ वर्षीय व्यक्तिको ‘मोबाइल होम’लाई रूखले किच्दा उनको मृत्यु भएको छ।
अचानक आएको बाढीले लुइजियानमा एक १३ वर्षीय बालकको ज्यान गएको छ।
ती बालकको शव एउटा ढलमा डुबेको अवस्थामा पाइएको थियो।
एलबेमामा पनि सडकमा लडेका रूखहरू पन्छाउन सहयोग गर्दैगर्दा एक ना कामदारलाई गाडीले ठक्कर दिएपछि उनको मृत्यु भएको छ।
उक्त आँधी सोमवार पूर्वतर्फ सरेको छ।
त्यसले गर्दा न्यूयोर्क, न्यूजर्जी र पेन्सिलभेनियामा सार्वजनिक सवारीसाधन प्रभावित भएका छन्।