काठमाडौँ, वैशाख ३ । मलेसियामा जारी आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटमा नेपालले ओमानलाई फराकिलो अन्तरले पराजित गरेको छ ।
मंगलबार भएको चौंथो खेलमा नेपालले ओमानलाई १५० रनको फराकिलो अन्तरले पराजित गरेको हो । शिलानगोर ट्रफ क्लबको मैदानमा नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको ओमान ४४ ओभर १ बलमा अलआउट हुँदै ७९ समेटियो ।
ओमानका लागि अमनप्रित सिंह र जिल तन्नाले सर्वाधिक १३/१३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्ने सकेनन् । नेपालका पवन सर्राफले ३ तथा सुर्य तामाङ र प्रतिष जिसीले समान २/२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४३ ओभर २ बलमा अलआउट हुँदै २२९ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ७५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै प्रतिष जिसीले ४१ तथा भिम सार्कीले ३९ रन बनाए । अविशेक बस्नेतले १५ रन जोड्दा रित गौतम १० रनमा आउट भए ।
ओमानका मुजाहिर राजा, संजय रबिन्द्र, जिल तन्ना र अजम अलीले समान २/२ विकेट लिए । ओमानलाई हराएसंगै नेपालले विश्वकपमा छनोट हुने सम्भावना कायमै राखेको छ । दोस्रो स्थानको नेपालले ४ खेलबाट ६ अंक जोडेको छ ।
नेपालले यस अघि पहिलो खेलमा सिंगापुरलाई २१७ रन र तेस्रो खेलमा मलेसियालाई ८ विकेटले हराएको थियो । नेपाल दोस्रो खेलमा भने युएईसंग डकवर्थ लेविस (डिएल) पद्दतिको आधारमा १ रनले पराजित भएको थियो । अब नेपालले अन्तिम खेलमा बिहिबार कुवेतसंग खेल्नेछ । सिंगल राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेताले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।