बुधबारबाट पश्चिमी वायु झन् सक्रिय, देशका विभिन्न स्थानमा पूर्ण बदली हुने

दियो पोस्ट  

काठमाडौँ,वैशाख ४ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अबको तीन दिन मौसम खराब हुने जनाएको छ । इरान, पाकिस्तान र भारत हुँदै सोमबार भित्रिएको पश्चिमी वायुले मौसम प्रभावित हुने भन्दै महाशाखाले सतर्क रहन आग्रह गरेको छ ।

बुधबारबाट पश्चिमी वायु झन् सक्रिय हुने भएकाले मेघ गर्जन, चट्याङ, गड्याङगुडुङ र असिनासँगै वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार दिउँसो देशैभरी सामान्यदेखि पूर्ण बदली हुने र पश्चिमका अधिकांश क्षेत्रहरुमा र पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानहरुमा चट्याङ तथा हुरी बताससहित हल्का वर्षा र असिना पर्नेछ । देशको तराईका स्थानहरुमा हुरी बतासको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हिमपातको सम्भावना रहेको बतएको छ ।

त्यसैगरी, बिहिबार देशैभरी आंशिकदेखि सामान्य बदली भई पश्चिमी क्षेत्रका केही स्थानमा र पूर्वी र मध्य क्षेत्रका एकदुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको बताएको छ ।