बालाजु बाइसधारा मेलाको तयारी पुरा, २ लाखले अवलोकन गर्ने

दियो पोस्ट  

काठमाडौँ,वैशाख ४ । हरेक बर्ष चैत्र शुक्ल पूणिमाको दिन लाग्ने बालाजु बाइसधारामा मेलाको तयारी पुरा भएको छ । बैशाख ६ गते शुक्रबारका दिन बालाजु बाइसधारामा मेला लाग्ने मेला ब्यवस्थापन समितिले जनाएको छ ।


बुधबार काठमाडौंको संवाद चौतारीमा पत्रकार सम्मेलनको आयोजना गरेर यसको जानकारी दिएको हो । समितिका संयोजक निरंजन बस्नेतले काठमाडौंको बालाजुमा रहेको बाइसधारा धार्मिक, सांस्कृतिक, पर्यटकीय, ऐतिहासिक हरेक दृष्टिले महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मेलामा २ लाख तीर्थयात्री आउने अनुमान गरेको बताए । यसको सञ्चालनका लागि काठमाडौं महानगरपालिकाले केही बजेट दिने गरेको उनको भनाई छ ।


काठमाडौं क्षेत्र नम्बर ७ का सांसद तथा नेकपाका युवा नेता रामवीर मानन्धरले उपत्यकाको मुटुमा रहेको यस स्थानमा प्रत्येक वर्षको चैत्र शुक्ल पूर्णिमाको विशेष मेला लाग्ने बताउँदै हाल यस उद्यान ओझेलमा परेको बताए । यसको समग्र विकासका लागि काठमाडौं महानगरपालिका र स्थानीय बासिन्दाको सहकार्य र समन्वय आवश्यक रहेको बताए । वाइसधारामा स्नान गरेर जामाचोमा गएर मेला भर्ने प्रचलन भएको उल्लेख गर्दै जामाचोबाट काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सकिने भएकाले पनि यसको विशेष महत्त्व रहेको उल्लेख गरे । उनले बालाजुमा नमुना पार्क बनाउन आफू लागिपरेको बताए ।


काठमाडौं जस्तो स्थानमा १६२ रोपनीभन्दा धेरै जग्गा भएर पनि यसबाट खासै फाइदा दिन नसकेको बताए । राजाले बुढानिलकण्ठमा रहेको नारायणको मन्दिर दर्शन गर्न नहुने परम्परा भएकोले यस स्थानमा नारायणको मन्दिर स्थापना गरेको पौराणिक कथन रहेको जानकारी दिए , यस स्थानमा रहेको नारायण मन्दिर उद्यान काठमाडौंका मल्ल राजा प्रताप मल्लले निर्माण गरेका हुन् ।


धार्मिक किंवदन्ती अनुसार यस दिनमा मेला स्नान गर्नाले शरीरमा भएको रोगब्याधी हराउने तथा परिवारमा सुख शान्ति कायम हुने विश्वास रहेको छ ।