काठमाडैँ,वैशाख ९ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रमजीवी वर्गको आकांक्षा अनुसार देशलाई अघि लैजान सक्ला की नसक्ला भन्ने आशंकाकाबीच फलामे ढोका पार गरिएको दाबी गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको नाम घोषणा कार्यक्रममा उनले नेपालको कम्युनिष्ट आन्दोलनको समिक्षा भने गर्नुपर्ने आवश्यकता औँल्याए । उनले दुई ठूला पार्टी मिलेर ठूलो फलामे ढोका पार गर्न सफल भएको बताए ।
नेपाली कम्युनिष्ट आन्दोलनको आक्रामक मोर्चाको रुपमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको भन्दै अध्यक्ष प्रचण्डले आफूहरुको गतिविधिलाई कसरी असफल बनाउन सकिन्छ भनेर अन्तर्राष्ट्रिय शक्तिहरुनै क्रियाशिल रहेका बताए ।
संविधानसभाबाट संविधान बन्न नदिन विभिन्न शक्तिहरुले चलखेल गरेपनि त्यो प्रयास विफल भएको र नागरिक आफैँले संविधान निर्माण गर्न सफल भएको उनले दाबी गरे । कम्युनिष्ट पार्टी भनेको अवसरबादीहरुको झुण्ड हो भनेर अपवाह फैल्याउनेहरुको कमी नभएको भन्दै उहाँले त्यस्ता शक्तिहरुप्रति सचेत रहनुपर्ने बताए ।