काठमाडौं, वैशाख ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अलोकतान्त्रिक बाटोमा हिडेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७० औ बार्षिकोत्सवको अवसरमा सोमबार राजधानीको प्रज्ञा भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफुलाई लोकतान्त्रिक पार्टी भन्ने कांग्रेस अलोकतान्त्रिक बाटोमा हिडेको बताए ।
विगतमा नेपाल कम्युनिष्ट पार्टी भित्र स्वार्थका खेल भएका कारण विभाजनमा पुगेको भन्दै उनले अहिले नेपाली काग्रेस त्यही बाटोमा गएको टिप्पणी गरे ।
उनले प्रगतिशिल शक्तिका विरुद्ध प्रतिगामी शक्तिसंग साँठगाठ गर्ने गलत प्रवृति नेपाली कांग्रेसमा देखिएको टिप्पणी गरे । नेपाली कांग्रेसले लोकतान्त्रिक शक्तिसंग एकता गर्नुपर्नेमा प्रतिगामी शक्तिसंग एकता गरेको उनको तर्क छ ।
उनले भने “आज अचम्म लाग्छ । कांग्रेस कहा पुग्यो । कांग्रेसका धेरै नेताहरु राजतन्त्र फर्काउने सपना देखेर हिडेको देख्दा विचित्र लाग्छ । कुनै पनि लोकतन्त्र वादीले जन्मसिद्ध श्रेष्ठताका लागि मेरो शासक भईदेउ भनेर दरखास्त हाल्दैन । ”
उनले भ्रष्टाचार नियन्त्रणमा कुनै पनि मोलाहिजा नहुने दोहोर्याए । उनले भने “सुन तस्करीको प्वाल बन्द गरिदिएका छौ । खै सुन ? त्यसबेलाकाले थाहा पाउन पर्यो नि कहा पुर्यायो भनेर ? अहिलेकालाई खै सुन ? आत्तिएका छन् कारोबारीहरु । कारोबारीको पृष्ठभूमिका बसेकाहरु आत्तिएका छन् । अब सूनको तस्करी चल्दैन । जिल्ला जिल्लामा जमिन मुनि गाडेको पनि खोजलेर निकालिएको छ । त्यो देख्नुपर्यो नि ।”
लोकतन्त्र विरोधी शक्तिहरु, विध्वंम्स मच्चाउने र राष्ट्रिय एकतालाई कमजोर पार्ने तत्वलाई समाप्त पारिएको तथा पृथकतावादी माग बोकेको समुहलाई पनि मुलधारको राजनीतिमा ल्याईएको भन्दै उनले पृथकतावादी विचार नै समाप्त हुनु राज्यको लागि खुसीको कुरा भएको बताए ।
उनले मुलुकबाट पृथकतावादी विचार समाप्त भएसंगै प्रतिगामी तत्वहरुमा छटपटी भएको बताए । उनले भने “तास खेल्दा खेल्दै पत्ती नै हरायो अब केमा खेल्ने ? ”
अपेक्षा गरे भन्दा बढी उत्साहजनक ढंगले देशमा लगानी भित्रिएको दाबी पनि उनले गरे । उनले यसबर्ष मात्रै ४ सय वटा झोलुङ्गे पुल बनेको , ४० वटा तुईन विस्थापित भएको तथा ८ सय किलोमिटर कालोपत्रे भएको भन्दै सरकारले बिग्रेको मुलुकको अर्थतन्त्रलाई ठिक बाटोमा ल्याएको बताए ।
अपेक्षा गरे भन्दा बढी उत्साहजनक ढंगले देशमा लगानी भित्रिएको दाबी पनि उनले गरे । उनले यसबर्ष मात्रै ४ सय वटा झोलुङ्गे पुल बनेको , ४० वटा तुईन विस्थापित भएको तथा ८ सय किलोमिटर कालोपत्रे भएको भन्दै सरकारले बिग्रेको मुलुकको अर्थतन्त्रलाई ठिक बाटोमा ल्याएको बताए ।