खलङ्गा,वैशाख १२ । यार्सा टिप्ने याम शुरु भएपछि यहाँका बालबालिकालाई पाटनतिर लैजाने क्रम रोक्नाका लागि जुम्लाको पातारासी गाउँपालिकाले शैक्षिक अभियान शुरु गरेको छ ।
बालबालिकालाई विद्यालय नछाड्न उक्त गाउँपालिकाले विद्यालयमै पुगेर यार्सा टिप्न भन्दा शैक्षिक भविष्य सुनिश्चित गर्नाका लागि अभिभावकलाई आग्रहसमेत गरेको छ ।
गाउँपालिकाले तल्फीस्थित सरस्वती मावि, लोठचौरस्थित मालिका मावि, डिल्लीचौरस्थित ऋणमोक्ष माविलगायतमा जनचेतनामूलक नाटकसहित शैक्षिक अभियान सञ्चालन गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिए ।
उनका अनुसार हरेक वर्ष बालबालिका विद्यालय छोडेर यार्सा टिप्न जाने गरेकाले यस वर्ष सो कार्य रोक्न विभिन्न प्रयास गरिएको हो । विद्यार्थीलाई प्रोत्साहित गर्नाका साथै लामो समयसम्म विद्यालय अनियमित हुनेको हकमा सेवा सुविधा रोक्ने चेतावनीसमेत दिइएको छ ।
गाउँपालिका अध्यक्ष लक्षिमन बोहराले शिक्षाको गुणस्तर बढाउन स्थानीय सरकार लागिपरेको र यसमा अभिभावकले सहयोग गरे सम्भव पनि हुने बताए । अध्यक्ष बोहरा, उपाध्यक्ष पुन्नकली महतारासहितका पदाधिकारी अहिले पातारासी गाउँपालिका विद्यालय र गाउँलेसंगको भेटघाटमा यार्सा टिप्ने समय भएपनि विद्यार्थीलाई विद्यालयमै निरन्तरता दिन विशेष शैक्षिक अभियान थालेका हुन् ।
स्थानीयवासी कालीबहादुर बोहराले जनचेतनामूलक कार्यक्रमले केही सुधार आउने बताए । अधिकांश विद्यार्थी आमाबुबासँगै यार्सा टिप्न पाटनतिर लाग्ने भएकाले विद्यालयको त्रैमासिक परीक्षासमेत प्रभावित हुने गर्दछन् ।
गत वर्ष डिल्लीचौरस्थित ऋणमोक्ष मावि मा ६० प्रतिशत विद्यार्थी जडीबुटी टिप्न गएकाले विद्यालयको परीक्षासमेत सार्नुपरेको शिक्षक जगतबहादुर शाहीले बताए । उक्त विद्यालयमा गत वर्षको हाजिरीमा कक्षा १० मा अध्ययनरत ६१ मध्ये ३८, कक्षा ९ मा ११८मध्ये ८७, कक्षा ८ मा ८०, कक्षा ७ मा ७६ मध्ये ४३ र कक्षा ६ मा ४४ मध्ये २८ विद्यार्थी अनुपस्थित भएका थिए ।
यसैगरी पातारासी र गोठीचौरका माध्यमिक तथा निम्न माध्यमिक विद्यालयका विद्यार्थी पनि वर्षेनी यार्सा टिप्न अभिभावकसँग पाटन जाने गरेका थिए । जेठ महीनामै परीक्षा सकिनुपर्नेमा विद्यार्थी नफर्किएपछि असार अन्तिममा परीक्षा सारेको थियो । यस क्षेत्रमा अहिले यार्सासँगै वनलसुन, कटुको, भुल्तेलगायत जडीबुटी टिप्न विद्यार्थीसमेत जाने गरेका स्थानीयवासीले बताए ।
यार्सा टिप्न गएर कहिले बालबालिका मर्ने र कहिले बिरामीसमेत हुने गरेकोे छ । वि।सं २०७३ मा डिल्लीचौर विद्यालयका कक्षा ६ मा अध्ययनरत एक छात्रको ज्यान गएको उक्त विद्यालयले जनाएको छ । यार्सा टिप्न बालबालिका जाँदा धेरै पढाइ छुट्ने भएकाले शैक्षिक गुणस्तर बृद्धि हुन नसकेको शिक्षक कृष्ण बुढाले बताए ।
भोटे समुदायले वन उपभोग गर्न पाएनन्
तीन पुस्तादेखि पातारासी गाउँपालिका–३ मा बस्ने भोटे समुदायले वन उपभोग गर्न नपाएको गुनासो गरेका छन् । अहिले छुमचौरमा ४५ घरधुरी बस्दै आएकास्थानीय अगुवा ताक्ला लामाले बताए । बारम्बार स्थानीय तहमा वन उपभोग गरी पाऊँ भनी अनुरोध गरे पनि माग पूरा नभएको उनको भनाइ थियो ।
हाम्रो नागरिकता, लालपुर्जा सबै यहीको छ, स्थायीरुपमा बस्दै आएका छौँ, उनले भने, ‘हामीलाई सौतेनी व्यवहार भएको छ । मुगुको मुगुम कार्मारोङ गाउँपालिकाबाट उहाँको पुर्खा बसाइँसराइ गरी यहाँ आएको हो । अर्का थानीयवासी सोनाम लामाले भने, ‘पशु चौपाय र मानिसलाई समेत वन–जङ्गल उपभोग गर्न नदिएकाले चार घण्टा लामो बाटो हिँडेर आवातजावत गर्नुपर्ने बाध्यता छ ।’
वडापालिकाले भने भोटे समुदायसँग समन्वय गरेर समस्या समाधान गरिने जनाएको छ । पातारासी र चन्दननाथ नगरपालिका क्षेत्रमा ठूलो सङ्ख्यामा भोटे समुदाय बसोबास छ । रासस