काठमाडौँ, चैत २० । अस्ट्रेलियाको न्यु साउथ वेल्समा तीन महिनासम्म लक डाउन जारि हुने भएको छ । स्थानीय संचारमाध्यमका अनुसार न्यु साउथ वेल्सका प्रहरी कमिश्नर मिक फुलरले अहिले जारि रहेको लकडाउन जुन २७ सम्म जारि राखिने बताएका हुन् ।
न्यू साउथ वेल्समा लकडाउनको कडा कार्यान्वयन समेत गरिएको छ । कसैले लकडाउन उल्लंघन गरेमा एक हजार डलर जरिवाना लगाउन पाउने अधिकार दिइएको छ । जरिवानाको अधिकतम रकम ११ हजार सम्म कायम गरिएको छ । साथै लकडाउन गर्नेलाई ६ महिनासम्म कैद सजाय हुने व्यवस्था गरिएको छ ।
अत्यावश्यक कामहरुमा भने प्रतिवन्ध लगाइएको छैन । काममा जान, खाद्यान्न किन्न र उपचारको लागि भने प्रतिवन्ध लगाइएको छैन ।
न्यू साउथ वेल्स अष्ट्रेलियाको कोभिड–१९ बाट सबैभन्दा प्रभावित क्षेत्र हो । बुधबार यो क्षेत्रमा एक सय १६ नयाँ संक्रमित फेला परेका थिए । यससँगै समग्र संक्रमितको संख्या दुई हजार दुई सय ९८ पुगेको थियो । अहिलेसम्म यो राज्यमा १० जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।