रुपन्देहीमा मजदुर र विपन्नलाई राहत बितरणः राहतमा १० किलो चामल, एक किलो नुन र १ लिटर तेल !

दियोपोस्ट संवाददाता

खस्यौली, चैत २० । रुपन्देहीका स्थानीय सरकारले सङ्कलन गरेकोे राहत आजदेखि धमाधम बितरण गरेका छन । जिल्लाको सैनामैना नगरपालिका वाड नं ६ मा वडा कार्यालयले सङ्कलन गरेको विभिन्न खाद्यान्न सामग्री बितरण गरेको वडाध्यक्ष वसन्त पाण्डेले बताएका छन् । सो वडाका दलित समुदायका विपन्न परिवारलाई १० किलोग्राम चामल, १ किलोग्राम नुन र १ लिटर खाने तेल बितरण गरिएको छ ।

दैनिक ज्यालादारीमा काम गरेका विपन्न समुदायका परिवार छनौट गरेर ३० परिवारलाई राहत वितरण गरिएको वडाध्यक्ष पाण्डेले जानकारी दिएका छन् । सैनामैना नगरपालिकाले ११ वटै वडा कार्यालयमा विपद् तथा प्रकोप व्यवस्थापन कोषबाट दिने राहत सबै वडा कार्यालयमा पठाएको छ । सबै वडा कार्यालयका लागि १२० क्विन्टल चामल, १२ क्विन्टल दाल, १२ क्विन्टल नुन, एक हजार दुइसय लिटर तेल र एकहजार दुइसय थान साबुन पठाइएको छ ।

विश्वमा महामारीको रुपमा रहेको कोरोना भाइरस कारण मुलुकमा लकडाउन घोषणा भएपछि दैनिक ज्यालादारी गरेर छाक टार्ने समुदायलाई बिहान, वेलुका खान समस्या हुदै आएको छ । सैनामैना विपद् तथा प्रकोप व्यवस्थापन कोषका लागि अहिलेसम्म रु। ५ लाख ५२ हजार सङ्कलन भएको छ ।

त्यस्तै रुपन्देहीको कञ्चन गाउँपालिकामा पनि राहत बितरण आजदेखि शुरु भएको छ । गाउँपालिकाको वडा नं २ स्थित मटेरिया विद्यालयबाट विपन्न समुदायका परिवारलाई राहत बाड्न शुरु भएको अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले बताए । सो वार्डका २०६ जनाले राहत पाएका छन । उनीहरुलाई १५ किलोग्राम चामल, १ लिटर खाने तेल, १ किलोग्राम दाल, एक पोका नुन, एउटा हात धुने साबुन दिइएको छ । खास गरी मुसहर, हरुवाचरुवा, दैनिक ज्यालादरी गरेर छाक टार्ने हजार परिवारलाई राहत वितरण गर्ने बताइएको छ ।

सियारी गाउँपालिकाका करिब ७०० घरधुरीलाई पनि राहत बाँडिएको छ । गाउँपालिकाको वाड नं ४, १ र ३ मा आज राहत दिइएको हो । गाउँपालिकाले परिवारको सङख्या हेरेर १० देखि २० किलोग्राम चामल, २ किलोग्राम दाल, एक किलोग्राम नुन र हात धुने साबुन प्रदान गरेको छ । रासस

सम्बन्धित खबर

सिफारिस