कान्ति अस्पतालमा कोरोना आशंका गरिएका १४ बालबालिकाको रिपोर्ट नेगेटिभ

दियो पोस्ट  

–सञ्चिता घिमिरे

काठमाडौँ, चैत २० । कान्ति बाल अस्पतालमा कोभिड–१९ को शङ्का गरेर अहिलेसम्म १४ जना बालबालिकाको परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । ती बालबालिकामा देखिएको रुघाखोकी, ज्वरो, निमोनियालगायतका स्वास्थ्य समस्या उपचारपछि निको भएर घरसमेत फर्किसकेका छन् ।

ती १४ मध्ये ११ नेपाली र तीन भारतीय बालबालिका रहेको अस्पतालले जनाएको छ । कोभिड–१९ का लक्षणसँग मिल्दा लक्षण देखिएपछि अस्पतालले ती बालबालिकाको टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालमा स्वाब पठाएर परीक्षण गरेको थियो । नौ बालबालिकाका घरमा परिवारका सदस्य विदेशबाट फर्किएकाले शङ्का गरिएको अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेलले बताए । उनका अनुसार बिरामीका परिवार र आफन्तका बारेमा विस्तृत जानकारी लिइएको थियो । त्यस क्रममा यी बालबालिकाको परिवारका सदस्य विदेशबाट फर्किएपछि अरुको संसर्गमा नआई ‘क्वारेन्टाइन’ बसेको नपाइएको उनले बताए ।

शुरुमा आउँदा उनीहरुमा ज्वरो, खोकी, निमोनिया, श्वासफेर्न गाह्रोलगायतका समस्या पाइएको थियो । कोभिड–१९ का लक्षणसँग मिल्दा लक्षण भएकाले बालबालिका, अभिभावकसँगै अस्पताल आउन पनि डराएको उहाँले बताउनुभयो । उनले भने, “उनीहरुमा सङ्क्रमण नभएको पुष्टि भइसकेको छ र नयाँ बिरामी यस्तो लक्षणका आएका छैनन् ।”

रासस

सिफारिस