
काठमाडौँ, चैत २३ । कोरोनाभाइरसको कारण संयृुक्त राज्य अमेरिकामा २४ घण्टाको अवधीमा १ हजार ४८ जनाले ज्यान गुमाएका छन् । यससँगै अमेरिकामा कोरोनाभाइरसको कारण ज्यान गुमाउनेको संख्या ८ हजार ४ सय ५२ पुगेको छ ।
मृत्यु हुनेमा सबैभन्दा बढी न्यू योर्क शहरका छन् । बीबीसीका अनुसार पछिल्लो २४ घण्टामा न्यूयोर्कमा ६ सय ३० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । उक्त शहरमा हालसम्म १ लाख १३ हजारमा कोरोना संक्रमण भेटिएको छ ।
हालसम्म अमेरिकामा सबैभन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा कोरोना संत्रमितको संख्या ३ लाख ११ हजार ३ सय ५७ पुगेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा थप ३४ हजार १ सय १६ जनामा कोरोना संक्रमण भएको छ ।
संक्रमितमध्य ८ हजार २ सय ६ जनाको स्थिती गम्भीर रहेको उल्लेख गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार सम्बोधन गर्दै कोरोना नियन्त्रणका लागि हजारौँ संख्यामा सैनिक र स्वास्थ्यकर्मीहरुको परिचालन गरिएको बताउँदै सम्पु्र्ण अमेरिकीहरुलाई सतर्क रहन आग्रह समेत गरेका थिए । उनले आगामी दिनमा अमेरिकामा यो भन्दा पनि कठिन परिस्थिति आउन नदिनका लागि सरकार सतर्क रहेको बताएका छन् ।