काठमाडौँ, चैत २५ । लिवियाका पुर्वप्रधानमन्त्री महमोद जिब्रिलको कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु भएको छ । दुई सातादेखि अस्पतालमा रहेका जिब्रिलको आइतबार मृत्यु भएको नेशनल फोर्सेस एलायन्सले जनाएको छ । इजिप्टको कायरोमा उनको निधन भएको बताइएको छ ।
दुई साता अघि हृदयघातको कारण अस्पताल भर्ना भएका जिब्रिलमा तीन दिनपछि कोरोना भाइरसको संक्रमण पाइएको थियो ।
जिब्रिल सन् २०११ मा लिबियाका शासक मुआमार गद्दाफीलाई सत्ताबाट हटाएपछि बनेको अन्तरिम सरकारका प्रमुख थिए । सन् २०१२ मा उनले नेशनल फोर्सेस एलायन्सको स्थापना गरेका थिए ।
सन् २०११ को क्रान्तिमा जोडिनुभन्दा पहिला उनी गद्दाफीका आर्थिक सल्लाहकार थिए । पछिल्लो समय लिबियामा बढेको हिंसाको कारण जिब्रिल मुलुक बाहिर रहँदै आएका थिए ।
लिवियामा हालसम्म १९ जनामा कोरोनाभाइरस देखिएको छ भने एक जनाको मात्र उक्त भाइरसको कारण मृत्यु भएको छ ।