तारकेश्वर नगरपालिका–९ मा राहत वितरणः दुइभन्दा बढी संख्याको परिवारलाई १ बोरा चामल !

दियो पोस्ट  

काठमाडौँ, चैत २७ । काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर ९ ले लकडाउन प्रभावितहरुलाई राहत वितरण गरेको छ । कोरोनाभाइरस नियन्त्रणका लागि सरकारले लागु गरेको लकडाउनबाट प्रभावित ५ सय ८७ घर परिवारलाई वडाले राहत वितरण गरेको हो ।

कोरोना भाइरसको महामारीबाट बँच्नका लागि सरकारले लकडाउन घोषणा गरेपछि दैनिक ज्यालामजदुरी गरेर गुजारा गर्दै आएका मानिसहरु संकटमा परेका थिए । सोही संकटलाई मध्यनजर गर्दै सरकाले सबै स्थानीय तहहरुलाई राहत वितरण गर्न निर्देशन दिएको हो । वडाले शुरुमा पीडितहरुको लगत संकलन गरेको थियो ।

तारकेश्वर–९ का वडाध्यक्ष बलराम सिटौलाका अनुसार वडाक्षेत्रका ८÷९ सय परिवारले फारम भरेका र तीमध्य अति विपन्न र दैनिक छाक टार्न मुस्किल परेका परिवारलाई वडाले राहत वितरण गरेको हो ।

वडाले दुईवटा प्याकेजमा राहत वितरण गरेको हो । २ जना सदस्य रहेको र त्यसभन्दा बढी सदस्य रहेको परिवारलाई फरकफरक प्याकेजको राहत वितरण गरेको हो । २ जना सदस्य रहेको परिवारलाई १५ किलो चाम, १ किलो चिनी, २ किलो दाल, १ लिटर तेल, एउटा साबुन वितरण गरेको छ । त्यस्तै २ भन्दा बढी सदस्य रहेको परिवारलाई २५ किलोको १ बोरा चामल, ३ किलो चिनी, ३ किलो दाल, २ लिटर तेल र २ ओटा सावुन वितरण गरेको हो ।

राहत नपुगेको र फारम भर्न नपाएका परिवारले नगरपालिकामा गएर सम्पर्क गर्न सक्ने वडाध्यक्ष सिटौलाले बताएका छन् । नगरपालिकाले फुड बैँक स्थापना गरिएको र त्यहाँबाट पनि पीडितहरुलाई राहत वितरणको कामहरु भइरहेको बताएका छन् ।