चीनमा फेरि फैलियो कोरोनाभाइरस, एकैदिन सय भन्दा बढी संक्रमित फेला

दियो पोस्ट  

काठमाडौँ, वैशाख १ । चीनमा कोरोना भाइरस करिब करिब नियन्त्रणमा आइसकेको पाँच सातापछि पुन संक्रमित फेला परेका छन् ।
चीनको नेसनल हेल्थ कमिसनले सार्वजनिक गरेको तथ्यांकअनुसार, एकै दिन चीनमा ५ सातापछि पहिलोपटक १ सयभन्दा धेरै नयाँ संक्रमित भेटिएका हुन् ।

संख्याको हिसाबमा अन्य मुलुकको तुलनामा यो ठूलो संख्या होइन । तर पछिल्लो केही दिनयता चीनमा नयाँ संक्रमितको संख्या बढिरहेको छ । यो भने चीनको लागि टाउको दुखाइको विषय बन्न सक्छ ।

बीबीसीका अनुसार, चीनमा आइतबार पाइएका सबै संक्रमित विदेशबाट फर्किएका चिनियाँ नागरिक थिए । जसमध्ये आधाभन्दा धेरै उत्तरी प्रान्त हिलोगजियाङका मानिसहरु छन् । यो प्रान्त रुससँग जोडिएको प्रान्त हो । यो प्रान्तमा भेटिएका सबै संक्रमित रुसबाट आएका मानिसहरु थिए । चीनले अन्तर्राष्ट्रिय यात्रामा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । यद्यपि, भाइरसका संक्रमितको संख्या भने पूर्ण रूपमा सकिएको छैन ।

चीनमा यो भाइरसबाट संक्रमित हुने मानिसको संख्या ८२ हजार एक सय ६० पुगेको छ । साथै यसबाट मृत्यु हुनेको संख्या पनि तीन हजार तीन सय ४१ पुगेको छ ।